पाकिस्तानी राजनीतिबारे टिप्पणी गरेकोमा अमेरिकाले माफी माग्यो


पाकिस्तानी राजनीतिबारे टिप्पणी गरेकोमा अमेरिकाले माफी माग्यो

इस्लामाबाद : पाकिस्तानस्थित अमेरिकी दूतावासले पाकिस्तानी प्रधानमन्त्रीमाथि टिप्पणी गरेको कुरामा माफी मागेको छ ।

अमेरिकी चुनावमा डोनल्ड ट्रम्पले हारेको कुरालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सत्ताबाट च्युत हुने भन्दै प्रतिपक्षी दलले गरेको टिप्पणीलाई अमेरिकी दूतावासको आधिकारिक ट्वीटरबाट रिट्वीट भएको थियो ।

उक्त रिट्वीट हटाउँदै अमेरिकी दूतावासले पाकिस्तानी सरकारसँग माफी मागेको हो । ‘पाकिस्तानमा पनि एकजना छन् । उनलाई पनि बाटो लगाउनु छ,’ मंगलबार प्रतिपक्षी सांसद अशान इकबालले ट्वीट गरेका थिए । उक्त ट्वीटलाई अमेरिकी दूतावासबाट रिट्वीट गरिएको थियो ।

तर ट्वीटमा खानको नाम उल्लेख थिएन । दूतावासले उक्त ट्वीट अधिकारीको पहुँचविना नै हुन गएको भन्दै माफी मागेको हो । दूतावासले कुनै राजनीतिक सन्देश पोस्ट गर्न नचाहने पनि जनाएको छ । अनधिकृत पोस्टबाट पर्न गएको अन्योलताप्रति अमेरिकी दूतावासले माफी चाहेको भन्दै दूतावासबाट प्रतिक्रिया आएको छ ।

पाकिस्तानमा केही महिनादेखि नै सरकारविरोधी प्रदर्शन हुँदैआएको छ । इमरान खान विरुद्ध विभिन्न ११ दलको गठबन्धनले देशव्यापी आन्दोलन गरिसकेको छ । अमेरिकामा ट्रम्प पराजित भएपछि प्रतिपक्षी दलका नेताहरुले इमरान खानलाई पनि उनैसँग तुलना गरी पदच्युत गरिने चेतावनी दिएका थिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...