अन्तत :अनिल गुरुङले पनि खोले मुख, मन थाम्न नसकेर सामाजिक सन्जालमा पोखे आफ्नो भाब


अन्तत :अनिल गुरुङले पनि खोले मुख, मन थाम्न नसकेर सामाजिक सन्जालमा पोखे आफ्नो भाब

दुइ–तीन साताअघिको घटना होला यो । मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ । रंगशालामा मान्छेहरुको जमघट थयो । रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फूटबलप्रेमीको मन खुशीले दङ्ग परेको थियो ।

अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो । तर, त्यो तस्वीर राम्ररी नियाल्दा थाहा भो त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ । यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फूटबल खेलाडिको मन नमज्जाले बजारिन पुग्यो ।

खेलाडी घरमा, मैदानमा कलाकारकस्तो लापरवाही, रंगशालामा खेल सन्चालनको अनुमती नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन । कोरोनाले कामविहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो। अति नै दुःख लागेर आयो । कोभिडको कहरले देशमा खेलकुद गतिविधी ठप्प भएको सात महिना बितिसक्यो । सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ ।

खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ । तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ । खेलकुद पूर्ण रुपमा सुचारु गरौं भन्दा कोरोनाको बाहना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अती नै लज्जाजनक लाग्यो । दुःखी नि बनायो र म यस्को घोर भर्त्सना गर्छु ।

एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगती गर्छ जस्तो मलाई लाग्दैन । देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडिको क्षमतामा दोष दिने गरिन्छ । तर, देशको खेलकुद निकायको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ ।

देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने सकिने गरेको छ । ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन् । जबकि सारा संसार भरी खेलाडीको आम्दानीको साहरा भनेकै लिग सिजन हो । अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो । हामीकहाँ खेल हार्यो कि खेलाडीलाई लागि गालीगलौच गर्ने गरिन्छ । जबकी राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन् । यो कुरा कसले बुझ्ने ?

एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछी हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने?हाम्रो अभिभावक भनेकै यिनै संस्थाहरु हुन् । यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभुती पनि नभएको होईन ।

यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ । डर लाग्छ, उनीहरुको भविस्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि ? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन । मनमा धेरै कुरा छन्, निरासा छन् तर भोलि अवस्य राम्रो हुन्छ भनेर आश पनि छ । भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ । खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो । आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविस्यलाइ अँध्यारोमा धकेल्नु हुन्न, । भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ । जय नेपाल, जय नेपाली फुटबल । #AG10


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...