ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको सुविधाका लागि अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण गरेको छ । महानगरद्वारा मङ्गलबार आयोजित समारोहमा स्वावलम्वन जीवन पद्धती केन्द्र ललितपुरलाई उक्त सवारी साधन प्रदान गरिएको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने पहल स्वरुप भित्रायाइएको सवारी साधन चलाउने चालक, इन्धन, विमा र विलबुक नविकरण सहित मर्मतको जिम्मेवारी महानगरले लिने प्रतिवद्धता जनाए ।
उनले ललितपुर महानगरपालिकाले बाटो, पार्क, सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरु लगायतको भौतिक संरचना निर्माण गर्दा अपाङ्गता मैत्री बनाउन पहल जारी राखेको पनि बताए । साथै सवारी साधनको दुरुपयोग हुनुहुन्न र लक्षित वर्गले नै लाभ उठाउनु पर्नेमा प्रमुख महर्जनले जोड दिए । महानगरका उप–प्रमुख गीता सत्यालले समाजमा सबै वर्गको जीवनयापन सहज, सरल बनाउन महानगरले नीति निर्माणको तहदेखि सबैका लागि मैत्री हुने भौतिक निर्माणको कार्यमा ध्यान पुर्याउँदै आएको बताइन ।

नेपालमै पहिलोपटक भित्रिएको अपाङ्गता मैत्री सवारीसाधन अपाङ्गता भएका व्यक्तिको सुविधाको लागि उपयोगमा ल्याइनेछ । विशेषगरी अपाङ्गता भित्रका बहु-अपाङ्गता र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई दिवा सेवामा जान, आउन र अपाङ्गताको विषयमा जागरण मुलक कार्यक्रममा सहभागी हुन प्रयोग गर्न सक्ने स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए ।
ललितपुर महानगरपालिकाको सहयोग २० लाख, इरुका इन्डिपेन्डेन्ट लिभिङ सेन्टर जापानको १६ लाख ७५ हजार र स्वावलम्वन जीवन पद्धती केन्द्रको तीन लाख ५० हजार रुपियाँ सहयोगमा ल्याइएको सो सवारी साधनबाट नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित हुने स्वावलम्वन जीवन पद्धती केन्द्रले जनाएको छ ।