भारतसँग सीमा जोडिएको सर्लाहीसहित प्रदेश नं २ का आठ जिल्लाका सीमावर्ती क्षेत्रमा प्रत्येक नौ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गरिएको छ ।
सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको हो ।
प्रदेश नं २ का आठ जिल्लामा हाल ६३ वटा बिओपी रहेका छन भने भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना जोडिएको भूभाग रहेको छ । ५१ किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा नौवटा बिओपी छन् ।
प्रदेश नं २ का आठ जिल्लामा पर्सामा १३ वटा बिओपी रहेका छन् । त्यसैगरी बारामा सात, रौतहटमा पाँच, महोत्तरीमा आठ ,धनुषामा सात, सिरहामा सात र सप्तरीमा सात वटा विओपी छन् ।
सीमा क्षेत्रमा हालसम्म ६ देखि ९ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल (एसएसबी)को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।
छिन्नमस्ता वाहिनीका वाहिनीपति चन्द्रप्रकाश गौतमका अनुसार प्रत्येक सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना गरिएको छ । पछिल्लो समयमा केही बिओपी थपिएपछि भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना रहेको प्रदेश नं २ मा अब सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना भएको हो ।