वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।
हस्ताक्षर फिर्ता लिनेमध्येकी एक सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताइन् । उनी र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।