काठमाडौं | नेपाल विद्यार्थी संघको टोलीले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरी भागरथी भट्टको हत्या घटनामा संलग्नलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्।
गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।
मंगलवार बिहान पुल्चोकस्थित मन्त्रीक्वारटर पुगेर नेविसंघका अध्यक्ष राजीव ढुंगानाको टोलीले गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेको हो। गृहमन्त्री थापाले यो घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले छिट्टै सफलता हात पर्ने दाबी गरेका हुन् ।
गृहमन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजाय पाउने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए । उनले निर्मला पन्तको घटना स्मरण गर्दै कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेको पनि बताए ।
गृहमन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको पनि बताए । उनले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सहयोगको सरकारले अपेक्षा गरेको पनि बताए ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए । नेविसंघले अनुसन्धान सफल नभए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ ।
