स्पेनिस कप कोप डेल रे अन्तर्गत गए राती भएको खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै जित पारेको छ । ग्रानाडाको घरेलु मैदानमा भएको खेलको अतिरिक्त समयमा बार्सिलोनाले ग्रानाडामाथि ५-३ गोल अन्तरको सानदार जित हात पारेको हो । जित संगै बार्सिलोना कोप डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता ग्रानडाले बनाएको थियो । खेलको ३२औं मिनेटमा केनेडीले गोल गर्दै ग्रानाडालाई १-० को अग्रता दिलाएका थिए भने खेलको ४६ औं मिनेटमा सोल्डाडो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । २-० को अग्रता जोगाउन नसक्दा बार्सिलोनाका लागि खेलको ८७ औं मिनेटमा ग्रिजम्यान र खेलको इन्जुरी समयमा अल्बाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए । तर बार्साको अग्रता धेरैबेर टिक्न सकेन। राइट ब्याक सर्जिन्हो डेस्टले ग्रानडाका कार्लोस नेभालाई पेनाल्टी क्षेत्रमा फल गरेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै फेडे भिकोले ग्रानडालाई बराबरी गोल दिलाएका थिए।तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४-३ को अग्रता दिलाए ।
त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-३ को जित दिलाए ।