जुम्लामा र हुम्लामा भारी हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमीकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।
हिमपातले उडान हुन नसकेपछि सिमीकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।
यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ । रातभरि समान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।
हिमपातका कारण भने जुम्लामा पनि हवाई सेवा तथा यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।