२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।
प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं ।’ नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।
तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको छ । उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।