साझा पार्टीसँग एकताको निर्णय लिन विवेकशीलमा मतसंग्रह


साझा पार्टीसँग एकताको निर्णय लिन विवेकशीलमा मतसंग्रह

काठमाडौं : विवेकशील नेपाली दलले साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा गरेको छ। विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यलाई छलफलका लागि पठाएको थियो।

कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेको अध्यक्ष मिलन पाण्डेले जानकारी दिए। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो।

विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई-तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुने उनले बताए। यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचार-संहिता बनाएर विधि-पद्धति बमोजिम तयारी गरेको हो।

मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै पाण्डेले वैकल्पिक सुसंस्कृत राजनीति भनेको भाषण र दस्ताबेजमा मात्र नभएर अभ्यासमा पनि सहभागितामूलक लोकतन्त्र, सदस्यहरूको सार्वभौमिकता र नागरिक केन्द्रित सङ्गठन हो भन्ने हाम्रो दृढ विश्वास रहेको बताए।

शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गरेको उनको भनाई छ। यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...