बोक्सीको बल्छीमा महिलालाई कहिलेसम्म झुन्ड्याउने?"


बोक्सीको बल्छीमा महिलालाई कहिलेसम्म झुन्ड्याउने?"

अहिले मूर्तिदेवी धरानस्थित एउटा अस्पतालको शय्यामा छटपटाइरहेकी छन्। उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किन अझै केही दिन लाग्ने बताइन्छ।

उनका छोरा गणेश प्रसाद आफ्नी आमालाई गाउँमा बसेको एउटा भेलाले बोक्सीको आरोप लगाएको दुखेसो पोख्छन्।

उनी घटना विवरण सुनाउँछन्, "आमालाई रातिको बेला घरबाट घिसार्दै ल्याई पञ्चायती माझ रक्ताम्मे बनाइयो।"

यो सिराहाको नवराजपुर गाउँपालिका वडा नं ५ को घटना हो।

प्रदेश नं २ को प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश नम्बर २ मा मात्र १६ जना र यो आर्थिक वर्षमा दुई जनालाई बोक्सीको आरोपमा ज्यादती गरिएका घटना दर्ता भएका छन्। दर्ता नभएका खोज्ने हो भने त्यो सङ्ख्या डरलाग्दो हुने बताइन्छ।

बोक्सीको आरोपमा महिलासँग कसरी अत्याचार हुन्छ र उनीहरू कतिसम्म पीडा सहन विवश छन् भन्ने कुराको सङ्केत यो घटनाले देखाउँछ।

सामाजिक न्याय पाउन नसकेका यस्ता महिलाको मानव अधिकारको दयनीय अवस्था बारम्बार सार्वजनिक हुँदै आएको छ।

महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा वा अन्य आधारमा शारीरिक-मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य हुँदा स्थानीय 'पञ्चायत'ले नै यसलाई छिनोफानो लगाउने प्रवृत्ति नेपाली समाजमा कायमै देखिन्छ।

कतिपय अवस्थामा पञ्चायतबाट नै कुनै महिलालाई बोक्सीको आरोप लगाउने वा तिनलाई दण्ड दिने प्रवृत्तिले अझै ठाउँ पाइराख्नु भनेको स्थानीय सरकारको कमजोरी मान्नेहरू कम छैनन्।

त्रुटिपूर्ण परम्परा

प्रत्येक वर्ष दशैँको आगमनसँगै तराई क्षेत्रमा एउटा अनौठो अन्धविश्वासले ठाउँ लिएको अझै देखिन्छ।

कतिपयले दशैँ आएपछि तराईमा बच्चाबच्चीको ढाडमा लसुन बाँधिदिने र निधारमा कालो टीका लगाइदिने गर्छन्।

त्यस्तो गर्नुको मुख्य कारणमा कतिपयले मान्दै र विश्वास गर्दै आएको 'डायन' अर्थात् 'बोक्सी' बाट सुरक्षा गर्नु रहेको बताइन्छ।

अरू समयको तुलनामा दशैँमा "बोक्सीहरू बढी सक्रिय हुने" अन्धविश्वास छ।

घटस्थापनादेखि नै छोराछोरीलाई घरबाट बाहिर निस्किन नदिने, निस्किन दिए पनि 'तन्त्रमन्त्र' गरेर मात्र निस्किने दिने चलन मधेशका गाउँघरमा कतैकतै अद्यापि देखिन्छ।

त्यस्तै "बोक्सा-बोक्सीको मेला" वा "झाँक्री खेलाउने मन्दिर" ले बेलाबखतमा चर्चा पाइरहन्छन्।

साहित्यकार डा. सुरेन्द्र लाभ कतिपय सांस्कृतिक अनुष्ठानहरूले गर्दा यस्ता अन्धविश्वासले समाजमा गहिरोसँग जरा गाडेको बताउँछन्।

उनी भन्छन्, "नयाँ पुस्तामा आएको सचेतनाका कारण यसलाई थोरै चिर्न सकिएको छ।"

कानुन बलियो, कार्यान्वयन सुस्त

महोत्तरीको तात्कालिक सिमरदही गाउँविकास समिति-१ की मरनीदेवीलाई बोक्सीको आरोपमा कुटपिट र अपमान गरिएको दुई दशक पूरा हुन लागेको छ।

यो घटना त्यतिखेर सार्वजनिक हुँदा यसले सबै पक्षको ध्यानाकर्षण भएको थियो। तर बारम्बार यस्ता घटना दोहोरिनुले पाठ सिक्न नसकेको प्रष्ट हुन्छ।

यतिखेर बहुतहको निर्वाचित सरकार छ। स्थानीय सरकारअन्तर्गत न्यायिक समिति छ।

बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ ले कानुनी बाटो प्रष्टसँग खोलिदिएको छ। तर पनि यस्ता घटना रोकिएका छैनन्।

अधिकारकर्मीहरू प्रदेश नं २ मा प्रकाशमा आएकाभन्दा बढी घटना गाउँघरमा हराएर जाने गरेको बताउँछन्।

उनीहरूका अनुसार विगतमा यस्ता घटनाहरू कम हुन्थे, पछिल्लो समयमा बढको हो भन्ने होइन। हिजो पनि महिला हिंसा र महिला अधिकार हननका घटना हुन्थे, तर पछिल्लो समयमा सञ्चारमाध्यमको पहुँच तथा विभिन्न सामाजिक संस्थाहरूको प्रयास र स्वयम् पीडित पक्षद्वारा उजागर गर्न बढ्दो आत्मविश्वासले काम गरेको बताइन्छ।

तैपनि साउन ३०, २०५८ मा मरनीदेवीले भोगेकी नियतिमा कुनै रोक लाग्न सकेको देखिँदैन।

कोरोनाभाइरस महामारीका बेला खासगरी प्रदेश नं २ मा यस प्रकारको घटना एकपछि अर्को उजागर हुँदै गर्दा जनमानसमा प्रश्न उठेको छः "आखिर बोक्सीको बल्छीमा महिलालाई कहिलेसम्म झुन्ड्याउने?"

सचेतनाको खाँचो

बोक्सीसम्बन्धी कानुन कार्यान्वयन पक्ष बलियो हुनुपर्छ। कानुनअनुसार बोक्सीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारको समेत हो।

महिला हिंसा अन्त्यका लागि नियम र कानुन मात्र नभई सर्वप्रथम महिलाहरू दोस्रो दर्जाका नागरिक हुन् भन्ने मानसिकतामा परिवर्तन आउन आवश्यक देखिएको अधिकारकर्मीहरू बताउँछन्।

बोक्सी प्रथा सामन्ती राज्य व्यवस्थाको अवशेष भएको र पितृसत्तात्मक समाजले त्यसलाई मलजल गर्दै आएको अधिकारकर्मीले तर्क गर्दै आएका छन्।

"देशमा जुन तन्त्र आए पनि समाज अझै पनि परम्परावादी सोचबाट निर्देशित छ, " महिला अधिकारकर्मी रीता साह भन्छिन्, "महिला अधिकारको कुरा गर्दा के बिर्सिनु हुन्न भने महिलाहरूले सम्मानका लागि मात्र होइन, शक्ति र अधिकारका लागि समेत लड्दै गरेका हुन्।"

बोक्सीको नाममा हुने महिला माथिको हिंसालाई कुनै एक समुदाय वा वर्गका मानिसको एकल प्रयासबाट अन्त्य हुने होइन , यसका लागि स्थानीय स्तरमा सबै पक्ष जुट्नुपर्छ।स्थानीय सरकार भूमिका

घरघरमा सेवा पुर्‍याउने उद्देश्यले गठित स्थानीय सरकार यस्ता घटना हुँदा सबभन्दा पहिले घटनास्थल पुग्न सक्छ।

तर कतिपय स्थानीय सरकारका प्रतिनिधिहरूले आफ्नो भूमिका ठिकसँग खेल्न नसकेको जनगुनासो पाइन्छ।

मूर्तिदेवीकै प्रसङ्गमा उनी घाइते भएर अस्पताल भर्ना भएको एक साता बितिसक्दा पनि उनको स्वास्थ्य अवस्था र राहतको विषयमा स्थानीय जनप्रतिनिधिले चासो राखेका छैनन्।

उनका छोरा गणेश प्रसाद भन्छन्, "सरकार नजिक छ भने पनि खै कतै हामीले त देखेनौँ।"

नवराजपुर पालिकाका अध्यक्ष विश्वमोहन यादवले सुरुमा पीडित पक्षले लिखित निवेदन नदिएकाले केही गर्न नमिल्ने बताए। तर सञ्चारमाध्यममा घटनाबारे कुरा उठ्न थालेपछि उनले दुवै पक्षलाई सोधपुछका लागि बोलाउने योजना सुनाए।

पालिका अध्यक्षको भनाइले यस्ता घटनाप्रति स्थानीय सरकारमा कस्तो हदसम्म हेल्चेक्र्याइँ छ भनेर देखिन्छ।

यस्ता घटनामा स्थानीय सरकारहरूले ढिलासुस्ती, अनिच्छा वा हेलचेक्र्याइँ देखाँउदै रहे भुइँतहमा पञ्चायतबाट हुने यस्ता आपराधिक घटनाहरू दोहोरिइरहन सक्छन्।

मूर्तिदेवीको मामिलामा बोक्सीजन्य कसुरअन्तर्गत जाहेरी परेको तथा आवश्यक पहल भइरहेको जानकारी सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले दिएका छन्। यस्ता घटनामा सरकारवादी मुद्दा हुने गर्छ।

पीडितलाई समाजमा फर्काउने

बोक्सीको आरोपमा कुट्ने, मलमूत्र खुवाउने, गालीबेइज्जती गर्ने, गाउँनिकाला गर्ने मानसिकता बोकेर भेला गर्नेहरूमाथि कारबाही गर्न कानुन छ तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिन्छ।

पीडित हुनेहरू प्रायः विपन्न, कथित तल्लो जातका वा एकल महिलाहरू नै हुन्छन्।

दोषीलाई दण्ड दिलाउनुका साथै पीडितलाई क्षतिपूर्तिको कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ।

त्यसैगरी बोक्सीको आक्षेप लगाइँदा वा भौतिक प्रहार खेपेका महिलालाई मनोपरामर्शको आवश्यकता पर्ने देखिन्छ।

यस प्रकारको बन्दोबस्तीका लागि प्रदेश सरकारहरूले समन्वयकारी भूमिका खेल्न सक्ने बताइन्छ।

तर पीडितलाई समाजफिर्तीको सहज वातावरण निर्माण गरिदिने काममा स्थानीय सरकारहरूले नै प्रभावकारी भूमिका खेल्न सक्छन्।

BBCNEPALI


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...