६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।
प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ ।