आजबाट च्याम्पियन्स लिग, पीएसजी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा


आजबाट च्याम्पियन्स लिग, पीएसजी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (मंगलबार) साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

पीएसजीले नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ । समूह 'एच' को पीएसजी र युनाईटेडबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा पीएसजी सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । अग्रपंतिमा नेयमार र केलियन एमबाप्पेको साथ रहने पीएसजीलाई घरेलु मैदानको फाइदा समेत हुनेछ । तर, इंग्लिस क्लबविरुद्ध पीएसजीलाई सहज भने हुने छैन । युनाईटेड पनि पीएसजीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पीएसजीसँगको पछिल्लो भेटमा जित निकालेको युनाईटेड त्यहिँ जितलाई कायम राख्न चाहन्छ । सन् २०१९ को मार्चमा भएको भेटमा युनाईटेडले पीएसजीलाई ३-१ ले हराएको थियो । तर, युनाईटेडलाई खेलाडीको चोटले सताउने छ । पीएसजीविरुद्ध नियमित कप्तान तथा डिफेन्डर ह्यारी मग्वाएरले खेल्ने छैनन् ।

यस्तै मासन ग्रीनउड र पीएसजीबाटै युनाईटेड आएका एडिनसन काभानी पनि टिम बाहिर रहेका छन् । डिफेन्डर एरिक बिलि र मिडफिल्डर जेसे लिंगार्डले समेत पेरिसको भ्रमण गरेका छैनन् ।

पीएसजीविरुद्ध युनाईटेडको कप्तान ब्रुनो फर्नानडेसले गर्ने छन् । पीएसजीका मार्को भेराट्टी, लिन्ड्रो पराडेस र माउरो इकार्डीले खेल्ने छैनन् ।

तर, डिफेन्डर मार्क्विन्होस र मिडफिल्डर जुलियन ड्राक्सलर टिममा फर्किएका छन् ।

एन्जल डी मारिया र एण्डर हरेराले समेत पूर्व क्लबविरुद्ध खेल्ने सम्भावना रहेको छ ।

यसै समूहको अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिग र इस्तानबुलबीच खेल हुनेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...