अभियानी चन्द्रकान्त पाैडेल कुटपिट आरोपमा पक्राउ


अभियानी चन्द्रकान्त पाैडेल कुटपिट आरोपमा पक्राउ

बागलुङ | गुरुकुलमा दलित र जनजातिलाई पनि संस्कृत पढाउनुपर्छ भन्ने अभियानमा लागेका चन्द्रकान्त पौडेल पक्राउ परेका छन्।  स्थानीय एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।

स्थानीय गोपाल पौडेलले दिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।  

यसअघि उनीविरुद्ध साइबर अपराधको मुद्दा पनि परेको थियो। उक्त मुद्दाको छिनोफानो नहुँदै स्थानीय युवालाई कुटपिट गरेको आरोप लागेको हो। प्रहरीले ५ दिन म्याद थप गरेर अनुसन्धान बढाएको बताएको छ। पौडेलले सामाजिक संजाल प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई गालीगलौज गरेका थिए।  

केही महिनाअघिदेखि कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा दलित र जनजातिले पनि संस्कृत पढ्न पाउनुपर्ने माग राख्दै आएका थिए।  

उनको मागमा स्थानीयले विरोधसमेत गरेका थिए। जिल्ला प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। विद्यालयका अध्यक्ष सहदेव राजभण्डारीले भने विज्ञप्ति प्रकाशित गरेर विद्यालयमा जो–कसैलाई पढ्न पाउने व्यवस्था गरिएको बताएका थिए।  

पौडेलविरुद्ध भने धेरै स्थानमा झगडा गरेको आरोप छ। उक्त विद्यालयमा ५ वर्षअघि पढाउने क्रममा शिक्षकको हैसियतमा विद्यार्थीलाई कुटपिट गरेको पनि आरोप लगाइएको थियो।  पौडेलको फेसबुकमा श्रीमतीले चलाएको भन्दै पक्राउ गरिएको विषय गम्भीर भएकोले संचारमाध्यमले पनि चासो राखिदिनुपर्ने लेखेकी छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...