छुटेका हरु


छुटेका हरु

यी छुटेकाहरुलाई बिर्सने छुट
मैले दिएको छैन मलाई
खै!
कति पाइला पर पुगेपछि
देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु ,
कति दिनको मौनतापछी बर्बराउदैनन्
ओठहरुले वियोगको धुन ,
यादहरुको मुन्टो बटारेर
अलिक पछाडीपट्टी  फर्के
अझै छर्लङ्गै देखिन्छन्
चुङ्गी भन्दा माथिसम्म उफ्रने रहरहरु ,
टालाटुली सङै बटुलेका सम्बन्धहरु ,
बालापना संगै छुटेका खुशी हरु ,
बैँस संगै फक्रीएका सपनाहरू ,
अनि औलाउनकै लागि फक्रीएको बैँस
जहाँ,
छुटेका छन्
छुटपत्रमा नअटाएका धेरै सम्बन्धहरु ,
कालोपाटिमा सुकिलो भविष्य खोज्ने नजरहरु
पाठशालामै छुटे ,
पुरानो थाङ्नोमा
आलो रोटो अनि पिरो अचार बोक्ने भोक
गोठालो छुटे संगै छुटे ,
कति प्रेमपत्र खाममा राख्नै छुटे ,
कति खाममा ठेगाना लेख्नै छुट्यो ,
कति ठेगानाको चिठी कहिल्यै आएनन् ,
अनि कति सम्बन्धको अन्त्य
विस्मयादिबोधक संगै भयो ,
मलाई नपाउदा पनि
'प्रिय' भनेर सम्बोधन गर्ने आवाजहरुलाई
मैले गुमाइ सकेपछि पनि प्रेम गरिरहेँ
यो पनि भन्नै छुट्यो ,
धेरै छुटेको छ त्यहाँ
जहाँ म छुट्टिदै गएको छु
म जस्तै म हरु संग ,
घाँटी बटारेर
छुटेकाहरु हेर्दा नथाकेको मन
शिर उठाएर पाएकाहरु हेर्दा पाट्टिन्छ ,
कान्छा ,
तँ भन्थिस् नि
"म पछी म जति तलाइ कोही प्रिय नलागोस"
हेर्न
आजकल त मलाई म पनि प्यारो लाग्दैन ,
जीवनसाथी बन्न नसकेकाहरु
जीवनभर साथी पनि त नबन्ने रहेछन्  ,
त पनि छुटिस ,
राधा तँ साइलोलाई नपाएको दुखेसो नगर् ,
गुमाउने भन्दा नपाउने भाग्यमानी हो
हेर् त  ,
मैले सिंदुर पाएकै कारण सिउदो गुमाउनु पर्यो ,
हातमा चुरा बज्न थालेदेखी
मन नाच्न नजान्ने भएको छ ,
गलामा पोते परेपछि
गुनगुनाउन छुट्यो ,
पाएका सम्बन्धहरु लाई निरन्तरता दिनु मात्र
प्रेम होइन  ,
हुन्न भन्न नसकेर जोडिएका बन्धनभन्दा
हुन्छ भन्न नपाएर गुमाएका साइनोहरु
प्रिय हुन्छन् राधा ,
खैर ,
समय संगै नदौडिएका साइनोहरुलाई
समयसमयमा सम्झन अझै छुटेको छैन ,
छुटेकाहरु लाई बिर्सने छुट
मैले दिएको छैन मलाई ,
आखिर ,
बाच्नु भनेको पनि त छोड्दै जानुरहेछ ,
श्वासनै नछाडे त नपाइदो रहेछ जीवन पनि ,
हो ,
जीवन भनेको छुट्टिँदै जाने चक्र हो ,
अरु संग छुटे अतित ,
आफै संग छुटे अन्त्य ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...