काठमाडौं | अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गर्दै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था मिलाएको छ । शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाएको हो ।
हालसम्म वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन ।
मूल नियमावलीको ८० मा ‘…महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’ व्यवस्था गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।
२०७२ को विनाशकारी भूकम्पपछि पनि सरकारले स्थानान्तरणलाई सहज बनाएको थियो ।
