काठमाण्डाै | कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । मंसिरमा भएको कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने छ।
अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए।
४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको बोर्डले जनाएको छ।
कोरोना महामारीको कारण गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो। यस वर्ष कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।
हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो ।यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।