चन्द्रागिरी हिल्सको आइपीओमा ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार सोमबार (मंसिर २९ गते) सम्ममा २ हजार ६९१ जनाले ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ३.८९ गुणा बढी हो । पहिलो चरणको समयसिमा भित्रनै मागभन्दा धेरै आवेदन परेपछि यसमा अब पुस १ गतेसम्म मात्र आवेदन दिन सकिनेछ ।
चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको हो । यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।
साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न कार्तिक २८ गते अनुमति दिएको थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । स्थानीयलाई बिक्री गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ ।