चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो
चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गदै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकिने जनाएको छ । चन्द्रागिरीले चुक्ता पुँजीको १० प्रतिशतले हुने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयवासीका लागि २ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।
आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ । सर्वसाधारण समूहका आवेदकले यो सेयर लक्की ड्रमार्फत् १० कित्ताका दरले प्राप्त गर्ने निश्चितजस्तै छ । त्यसैले प्रत्येक आवेदकले १० कित्ताको लागि मात्रै आवेदन गर्दा पर्याप्त हुने अवस्था देखिन्छ ।

चन्द्रागिरिले आफ्नो सेयरको निष्कासनका लागि यही जेठ २५ गते निवेदन दिएको थियो । आईपीओ प्रस्ताव स्वीकृत भएपछि पुस १ गतेदेखि स्थानीयवासीका लागि आईपीओ बिक्री गरिएको थियो । सो कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।
यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ । यो केबलकारमा ग्लोबल आईएमई समूह र त्यसअन्तर्गतका सदस्यहरुकै बहुसंख्यक लगानी रहेको छ ।