भारतमा कोरोनाभाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यही समयमा भारतमा २ सय ५१ जनाको कोरोनाका कारण निधन भएको छ ।
भारतमा अब ३ लाख ९५ हजारभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यहाँ ५ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भ्याक्सिन लगाइएको छ ।
भारतमा अहिलेसम्म १ करोड १७ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, त्यहाँ १ लाख ६० हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
भारतले तत्काल कोभिड–१९ विरुद्धको खोप निर्यात नगर्ने
भारत सरकारले कोभिड–१९ विरुद्धको खोप निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको विदेश मन्त्रालयले भारतमा संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउनेको संख्या बढेको भन्दै अन्य देशलाई खोप तत्कालका लागि निर्यात नगर्ने निर्णय गरेको हो ।
मन्त्रालयले अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै पनि देशमा खोप निर्यात नहुने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । भारतमा आगामी अप्रिलदेखि ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
भारतको अक्सफोर्ड–एस्ट्राजेनेको खोप हालसम्म ७६ राष्ट्रमा ६ करोड खोप उपलब्ध गराइसकेको बताएको छ ।