काठमाडौँ | नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंलगायत देशभरि नै समूहले शक्ति प्रदर्शन गरिरहेको छ ।
स्रोतका अनुसार यो समूहले काठमाडौंमा मात्रै पचास हजार कार्यकर्ता उतार्ने दाबी छ । आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।
काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका छन्। काठमाडौं उपत्यकामा १३ स्थानबाट जुलुस निकालिएको छ। टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, , बागबजार, रत्नपार्कबाट जुलुस सुरु भएका छन् ।
जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने भएका छन् । भृकुटीमण्डपमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने भएका छन् ।
पूर्वसिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कनेछ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिनेछ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपन्डोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले जनाएको छ ।