काठमाडौं | स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए। आज दिनभर उनलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने उनले बताए।
भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। उपचारका क्रममा चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली गएका हुन्।