देशको चिता नजलोस्


देशको चिता नजलोस्

अनसनको २६ औँ दिनमा हिजो डा गोविन्द केसी र सरकारी वार्ता टोली बीचको रातिको वार्ता पनि निष्फल भयो। डा केसीको स्वास्थ्य जटिल मोडमा पुग्दैछ, कुनै क्षण जे पनि हुन सक्छ।

डा केसीको सत्याग्रह अनसनको आज २७ औँ दिन हो, यो आजसम्मकै सबैभन्दा लामो अनसन हुन पुगेको छ। सरकार गैरजिम्मेवारी मात्र हैन आफू र आफ्नो दललाई पतनको बाटोमा हिडाउन थालेको पनि देखिदैछ। यसरी लापरवाह बन्दै गएर केही अनर्थ हुन पुग्यो भने सरकार, तिनका दल र नेताहरूले भर्पाई हुन नसक्ने अक्षम्य र प्रायश्चित्तहिन खति बेहोर्न पर्नेछ । तिनले मजाक नगरून्।
यस्तो पाराले हालका नेताहरूको आजसम्मको योगदान टुकुचामा बग्ने त छँदैछ, तिनलाई यो मुलुकभित्र बसेर बॉकी जिवन बॉच्न मुस्किल पर्न सक्छ। आज डा केसीको मागको समर्थनमा उनको जिवनरक्षार्थ विभिन्न कडा कार्यक्रमहरू हुदैछ। जनता जुर्मुराएका छन्, सरकार र नेताहरूप्रति आक्रोशित र तिरस्कारको मूडमा  छन्। अहिले जनताले आआफ्नो तर्फबाट योगदान गरिरहेका देखिन्छन्। सरकारइतरका सबै राजनीतिक दलहरू, बुद्धिजीबीहरू, प्रबुद्ध वर्गहरू डा केसीको जिवनरक्षार्थ अपिल गरिरहेका छन्।

भ्रष्ट मेडिकल माफियातन्त्रको बिरूद्धमा डा केसीले १९औँ पटक यसरी निरन्तर गर्दै आएको जनताले चुनेका भनिएका कथित लोकतान्त्रिक दलहरू र सरकारबिरूद्धकै सत्याग्रहको क्रममा यसरी नै लड्दा लड्दै यदि उनको प्राण गयो भने त्यसपछि नेपाली जनताले भविष्यमा कहिल्यै आफ्नो मुखमा पोतिएको कालोमोसोको पाप पखाल्न सक्नेछैनन्। नेपाली जनता, दलहरू र नेताहरू सदाका लागि विश्वमै कलंकित हुनेछन्। त्यसको भूतले सपनामा पनि तर्साईरहनेछ। जसरी विगतको जनयुद्धको त्रासले आजसम्म हजारौँ जनता विश्व र नेताहरूलाई तर्साउने गरिरहेको छ।
त्यसपश्चात् जनताका तर्फबाट के कस्तो प्रतिक्रिया र आक्रोश छताछुल्ल हुने होला?  कमजोर मनस्थिति अलोकप्रिय सरकार र उपलब्धी प्रमाणित गर्न नसकेको गणतन्त्र र संघीयताका साथै तिनका पक्षधर नेताहरूको अवस्था के कस्तो हुने हो त्यो अकल्पनीय हुन सक्छ।

गल्ती भएपछि चुक्चुकाएर पछुताउनु भन्दा गल्ती नै नगर्नु बुद्धिमानी हो। डा केसीलाई आफ्नो प्राणको चिन्ता हैन, देश र गरिब जनता र पिछडिएको क्षेत्रहरूको स्वास्थ्य प्रणाली स्थापना गर्ने कसरी त्यो मात्र चिन्ता हो। जिउदो रहदा पूरा नभएको जनप्रिय मागहरू  उनी मरेपछि पूरा गर्ने अभिभारा जनताले आफ्नो हातमा जबरजस्ति लिनपर्यो भने के के हुनेछ के के!

हामीले सरकारसंग र जिम्मेवार नेताहरूसंग  डा केसीको प्राण रक्षा गर भनेको हाम्रै हितका लागि उनले राखेका मागहरू पूरा गर भनेको हो। जसले जिवननै मेडिकल माफियातन्त्रको बिरूद्ध उत्सर्ग गर्दै आएको छ, उसले आफ्नो प्राण भन्दा मुलुक प्यारो भनेर सत्याग्रह गरेको हो। निर्विवाद, हाम्रो चाहना डा केसी दिर्घायू हुनुपर्छ भन्ने हो, तर डा केसीको आफ्नो चाहना आफू मरे पनि आफू हैन मुलुक दिर्घायू र स्वस्थ रहोस् भन्ने हो। हाम्रा नेताहरूले  त आजसम्म मुलुकमा डढेलो लगाएको लगाई गरेर कैयन नेपालीको चितामा आगो लगाएर मजाले आगोको न्यानो ताप्तै आएका हुन्। अहिले पनि ती नेताहरू क्वारेन्टिनमा हजारौँ जनताको चिताको आगो र ज्वालामा रोटी सेकिरहेका देखिन्छन् । तर अब कथं डा केसीको चितामा आगो सल्काउने दुर्भाग्य आईलाग्य भने त्यो धेरैका लागि अकल्पनीय महंगो र ईरिभर्सिबल खति हुनेछ, क्षमा हुने छैन। जनतालाई नजिस्काउनु बेस हुन्छ। जनताले आजसम्म आफ्नो चितामात्र जल्यो,  दु:ख मात्र पाईयो भन्ने चित्कार गरिरहेका छन्।

विगत ३ दशकदेखिको नेताहरूले कमाएका उपलब्धीहरू र नेताहरू अब चकनाचुर मार्गमा हिड्दै गरेको प्रतीत हुदैछ। तर अचम्म, यस्तो पूर्व कडा संकेतहरू आउदा आउदै पनि अझै तिनीहरूको जॉडको कडा नसा उत्रेको देखिदैन।

सरकार र नेताजीहरू ! यसरी अमूल्य अन्तिम क्षणमा डिलमा पुगिसकेको समय नष्ट नगर। वार्ताको नाटक  गर्ने झन्झट पर्दैन। डा केसीका माग यथार्थ र ब्यावहारिक छन्। सिधै मागहरू पूरा गरेको घोषणा गरिहाल। डा केसीलाई मात्र हैन,  आफू, आफ्नो सरकार र मुलुकलाई भयंकर दुर्घटनाबाट जोगाउ। समय खेर नफाल,  समय फिर्ता आउदैन।पछुताउने जोहो नगर। डा केसीका माग हैनन्, ती जनताका माग हुन्।

जनता हारेको महसूस गर्दै आउनु खतरनाक हुन्छ। सानो फिलिंगोले घना चारकोशे झाडी सखाप भएर खरानी हुनबाट जोगाउने एकल जिम्मा सत्तारूदल र सरकारको हो।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...