शिक्षा सुधारमा ४ खम्बे नीति


शिक्षा सुधारमा ४ खम्बे नीति

कोभिड महामारीकाे बीचमा अनलाइन कक्षा ,अस्थायी,सिकाइ र आवश्यक शैक्षिक समाग्रीको व्यवस्था गर्दै बालबालिका ,अभिभावक र शिक्षकलाई विस्तारै नियमित रुपमा पठनपाठनतर्प फर्काउन स्थानीय तहहरू लागीरहेका छन ।  अहिले प्रविधी र आधारभूत शैक्षिक सामाग्रीका साथै स्थानीय तहहरूलाई हामी सबैको सहयाेगको आवश्यकता छ । सरकारले पनि सम्पूर्ण विद्यालय तथा विधार्थीहरूलाई इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन जारी गरिसकेको छ ।

समाजशास्त्रीय दृष्टीकोणबाट शिक्षाको परिणाम मानवीय व्यवहार र मानव विकासको सूचकांकहरुमा आएको परिवर्तनलाई आधारभूत सूचकांककाे रुपमा लिने गरिन्छ ।  

यस विषम परिस्थतिमा सिकाइलाई कसरी व्यवस्थित ,सुरक्षित र उपलव्धिपूर्ण बनाउन सकिन्छ भनेर यस लेखमा समस्या उठान र समाधानका उपाय समेत सुझाउने कोशिस गरिने छ । शिक्षक ,विद्यार्थी र अभिभावक शिक्षाका तीन खम्बा हुन् । शिक्षाको सुधारका लागि  पहिले तीन खम्बाका बारे चर्चा गरीने गरिएको भएपनी यहाँ चार खम्बाका बारेमा चर्चा गरिएको छ ।


शिक्षक
शिक्षक सरकारी नीतिको कारिन्दा मात्र होइनन् । उनीहरु त कसरी शिक्षालाई उपलब्धिमूलक बनाउन सकिन्छ भनेर खोजी गर्ने अनुसन्धानकर्ता पनि हुन् । किनकि उनिहरु सधैँ अबोध बालबालिकासँग आएका जिज्ञाशा मेटाउने कोशिसमा हुन्छन्। दिनहुँ फिल्डमा हुन्छन् । राज्यले महंगो शूल्क तिरेर पढाउन नसक्ने जनताका लागि तलब र सुविधा दिएर उनीहरूलाई जिम्मेवारि दिएको छ । समाजलाई बदल्ने जिम्मेवारि उनीहरूकै काँधमा रहेकाे छ ।  सभ्य समाज निर्माणका लागि उनीहरूमाथी सबैको आशा रहेको छ ।आगामि पिँढीको भविष्य निमार्णको जग तयार गर्ने अभिभारा दिइएको छ ।

शिक्षक सभ्य समाज निर्माणका नेतृत्वकर्ता हुन् । काँचो पीठोबाट जसरि रोटी तयार गरिन्छ त्यसरी नै असल शिक्षकले अबाेध बालबालिकालाई सफल जीवनको आधार तयार गरिदीन्छन् ।

सिकाइ उपलव्धिका आधारमा आएको परिणाममुखि शैक्षिक सुचकांक नै शिक्षण प्रभावकारी भए नभएको प्रमाणित गर्ने आधार हो भनिन्छ । असल शिक्षणको मापनकाे आधार कसरी बनाउने भन्ने विषयमा  लामो बहस चलेको छ । समाजशास्त्रीय दृष्टीकोणबाट शिक्षाको परिणाम,  मानवीय व्यवहार र मानव विकास सूचकांकहरुमा आएको परिवर्तनलाई आधारभूत सूचकका  रुपमा लिने गरिन्छ ।

अहिले शिक्षकले आपनो काममा भन्दा राजनीतिक क्रियाकलापमा समय विताएको आरोप लागिरहेको छ ।यस्तो बेलामा हामी निष्पक्षरुपमा शिक्षाका चार खम्बामध्ये महत्वपूर्ण मानिएकाे शिक्षकले आपनो इज्जत जोगाउने हो भने आजैदेखि निम्न अुनसारका साना तर गम्भीर ठाउँमा चुकेका कुरा सच्याउन जरुरी रहेको छ ।


क)बाेर्डमा लेख्ने कुरामा अल्छि गर्ने बानी हटाउने,

ख)आवश्यक तयारीका लागी कक्षामा जाने,अध्ययनशील बन्ने,

ग)कार्यमूलक, अनुसन्धानमूलक शिक्षण बनाउने ,

घ)रचनात्मक रुपमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोग गर्ने ,

ङ)आफू असल सिर्जनात्मक शिक्षक बन्न प्रयास गर्दै शिक्षक भएकोमा गर्व गर्ने ,

च)बाल मैत्रिममूलक शिक्षण विधि वा  सिकेर सिकाउने (जिज्ञासामूलक  शिक्षण) गर्ने कुरामा जोड दिने

छ)छलफल गरि सिक्ने अवधारणा प्रयोग गरि सिकाइ सहजकर्ताका रुपमा रही निचोड दिने

ज)समस्या समाधान शिक्षण विधी अपनाउने , नियमित कक्षामा आउने

झ)अवलोकन विधी को प्रयोग गरि रटाउने बिधि हटाउने ।


सामुदायिक विद्यालयका शिक्षकले भन्छन्, हामी गरिबहरुका छोराछोरि पढाउँछौँ । निजि स्कूलले शूल्क तिर्न सक्नेलाई पढाउँछन । हामीलाइ सरकारले शूल्क लिन बन्देज लगाएको छ । हामी कसरी राम्रो परिणाम ल्याउन सक्छौँ ?

हो, अनुभव साट्दा  केही सरकारी स्कूलमा अभिभावकसँग सल्लाह गरेर थोरै शूल्क लिएर सानो योजनाबद्ध प्रयास गर्दा राम्रो परिणाम आएको देखियो । यद्यपि शूल्क साधन मात्र हो गर्ने  शिक्षकले नै हो । अभिभावक संघका प्रतिनिधि भन्छन्,  साधनको अभाव बहाना मात्र हो हामी सहयोग गर्न चाहन्छौँ योजना र हिसाब पारदर्शी बनाएर आउनूहोस् । त्यसैले हामी समस्या देखाउँदै कति दिन बस्ने ?


विद्यार्थी

विद्यार्थी जिज्ञासु हुन्छन्। उनीहरुमा मानसिक पीडा त छँदै छ । अइा बढी  अभाव पनि  छ । पाठ्यपुस्तक ,कापीकलम ,र उपयुक्त आहारको अभावमा स्कुलमा आए पनि घर जाँदा पुनः पारिवारिक समस्याले पढाइलाई निरन्तरता दिन कठिन भैरहेको छ ।

अभिभावक मामको खोजिमा काममा जाँदा घरमा उपयुक्त वातावरण मिलाउन सकिरहेका छैनन । विद्यार्थीलाई समय दिन सकिरहेका छैनन ।

यस्तो अवस्थामा बालबालिकाले निम्नअनुसारको अपेक्षा गरिरहेका हुँदारहेछन् ।

  • अवलोकन भ्रमण
  • खेलकुद
  • साँस्कृतिक कार्यक्रम
  • मनोरन्जन
  • प्रयोगात्मक अवसर ।

ब्यवस्थापन समिति तथा अभिभावक

स्कुल व्यवस्थापन समितीलाई प्राध्यापकले बनाएको शैक्षिक कार्ययोजनालाई सघाउँदै गुणस्तरीय शिक्षा दिन सघाउने उदेश्य राखि संस्थाका रुपमा गठन गरिएको हो ।

व्यवस्थापन समितिले एकोहोरो शिक्षकलाई दोष दिनुभन्दा रचनात्मक सहयोग गरेर शिक्षामा सुधार गर्न सकिने कुरामा जोड दिनु आजको आवश्यकता हो । त्यसतर्फ व्यवस्थापन समिति लाग्नुभन्दा खाली राजनितिक प्रभावमा परेर कसरी आपनो मान्छे भर्ती गर्न सकिन्छ भन्नेतर्फ बढी लागेकले आफूलाई अप्ठयारो परेको तर्क शिक्षकहरू गर्दछन ।  व्यवस्थापन समितिका अध्यक्षहरु हामिलाई एउटा  साधनका रुपमा प्रयोग गरि पूर्ण अधिकार नदिइ  गाल टार्ने साधनमात्र बनाएको गुनासो गर्दछन ।शिक्षा सुधारका चार खम्बामध्येकाे एक व्यवस्थापन समिती मुख्यतया निम्न अनुसारका कुरामा चुकेको शिक्षक प्रतिनिधिको  आरोप  छ ।

१) आफनो मान्छे भर्ती गर्ने कुरामा राजनैतिक प्रभावमा पार्न खोज्नु ।

२) शिक्षक नातागोता र एउटै दलको आस्था भएकोमा अत्यन्त भर पर्नु वा पढाइकाे कुरा गर्न हिच्किचाउनु ।

३) आपनो बच्चाको पढाइप्रति कस्तो अबस्था छ भन्नेबारे स्कुलमा गएर चासो नलिनु ।

त्यसैले  शिक्षक, अभिभावक संघ र शिक्षक व्यवस्थापन समितीबीच सहकार्य गरि ठोस रुपमा अराजनीतिक कार्ययोजना बनाइ विद्यालय प्राध्यापकलाई शैक्षिक योजनामा सघाउने र आवश्यक सरसल्लाह दिने गरेमा विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सजिलो हुन्छ ।


जिल्ला शिक्षा समन्वय समिती र स्थानीय शिक्षा समिती

संघीय व्यवस्थामा जिल्ला शिक्षा समन्वय समिती र स्थानीय शिक्षा समीतीका क्षेत्राधिकार स्पष्ट तोकिएको छ । तर,

सम्पूर्ण अनुगमन ,व्यबस्थापन र सुपरिवेक्षणको जिम्मा लिएर पनि खाली दोष विद्यालय प्राध्यापकलाई दिएर आफ्नाे जिम्मेवारीबाट भाग्न खोजेको देखिन्छ ।

शिक्षा अधिकृतको सहजिकरण फितलो रहेको गुनासो छ । यस तथ्यसँग भरपर्दो प्रमाण पनि छ । अधिकांश शिक्षा अधिकृतहरु, शिक्षकहरु, संघसंगठनको इाोला बाकेर हिँडिरहेका छन । उनीहरू नेता बनिरहेको तस्वीर छर्लङ्गै छ । यसरी अनुगमन मूल्याङ्कन गर्ने पाटो नै भरपर्दो नभएपछि कसरी शिक्षामा गुणस्तरीयता आउन सक्छ ? — शिक्षकहरुको तर्क छ । जिल्ला शिक्षा समन्वय समिती र स्थानीय शिक्षा समिती निम्न अनुसारका कुरामा चुकेको आम नागरिकको ठहर छ ।

क) वास्तविक तथ्यभन्दा कागजी उपलव्धिमा रमाउनु ।

ख)  राजनीतिक प्रभावमा पर्नु ।

ग) राम्रो गर्नेलाई पुरस्कृत र खराब आचरण वा ठगलाई दण्डित गर्नुकाे साटो संघसंगठनको सिफारिसमा गलत मूल्याङ्कन गरी राम्रा शिक्षकलाई हौसला दिन नसक्नु ।

घ) नीतिगत रुपमा देखिएका समस्यालाई सहि समाधान गर्नुको साटो आफू अनुकुल गलत व्याख्या गर्नु ।

त्यसैल जिल्ला शिक्षा समन्वय समिती र स्थानीय शिक्षा समितीबाट सहि अनुगमनको खाँचो छ । सहि अनुगमन र मूल्याङ्कन नभए शिक्षकको जाँगर मर्दछ । उनिहरु राजनीतिक आड लिन बाध्य हुन्छन ।

राजनीतिक आडले ठग्ने बानी परेका शिक्षक बलले पदोन्नति भइरहने र इमान्दार शिक्षक सधैँ तल्लो दर्जामा रहनन्छन् । बहानावाजी गरि ठग्ने प्रवृत्ति बढिरहँदा नीतिको सहि कार्यान्ययन हुन नसकि शिक्षाको गुणस्तर खस्कदै गएको छ ।


समाधानको उपाय र अवसर

शिक्षकहरू समाजमा गुरुकाे सम्मानित नामले चिनिन्छन् । गुरु समाजमा पूजनीय हुन्छन् । पूजनीय यसकारणले कि उनिहरु समाजका लागि मार्गदर्शक हुन् । समाजलाई कस्तो बनाउने ? कस्तो आकारबाट सजाउने भन्ने कुरा शिक्षककाे हातमा छ । शिक्षक समाजका दक्ष इन्जिनियर हुन् ।  जसले कस्तो जगबाट बनेको घर वा समाज कति बलियो हुन्छ ? कति  मसला राख्दा कति टिक्छ भन्ने समेत हिसाबकिताब वैज्ञानिक रुपमा नै निकालिएकाे हुन्छ । त्यसैले दीर्घकालिन सोच हुनु शिक्षकको अपरिहार्य गुण हो । यति भनिरहँदा आफैँ जान्ने सर्वेसर्वा बन्ने भूल शिक्षकबाट हुनुहुँदैन। अज्ञानता भित्रको ज्ञान खोज्न सक्नुपर्छ ।

शिक्षक समय अनुसारका प्रविधीसँग परिचित हुनुपर्छ । समयको मनोविज्ञान बुझेको  हुनुपर्छ । समयको मनोविज्ञान भनेको परिवर्तन हो । जो निरन्तर जिज्ञासु हुन्छ ।

शिक्षक अध्यानशील नबने विद्यार्थिले समयको माग अनुसारको शिक्षा पाउँदैनन् ।

अर्कोतर्फ शिक्षण विधी समयलाई नचिनेको भएमा  विद्यार्थी अल्मलिन्छन् । पढ्ने कुराप्रति रुची बढ्नुको सट्टा अरुचि बढ्छ ।  विद्यार्थीलाइ उनीहरुको मनोविज्ञान बुझेर कसरी सिक्न सक्छन् भन्ने तिर ध्यान दिएर नयाँ नयाँ तरिका अपनाएर शिक्षण गरेमात्र समय अनुसारको शिक्षा दिन सकिन्छ । नयाँ तरिका अरुले प्रतिपादन गरेका सिद्दान्त मात्र होइनन । आफैँले काम गर्दा आएका अनुभवबाट सिकेर आएको ज्ञान नै हो ।

आफैँले भाेगेका अनुभवका आधारमा नयाँ पाठ सिकेर सिर्जनात्मक तरिका अपनाउनु सबैभन्दा उत्तम उपाय हो । जुन देश काल परिस्थिति अनकुल हुन्छ ।  

सरल ,सजिलै उपलव्ध हुने ,स्थानीय रुपमा परिचित ,स्थानीय भाषामा परिचित मितव्ययी पाठ्यसामाग्रीको प्रयोग नैै उपयोगी साधन हुन् । रचनात्मक स्थानीय पाठ्यसामाग्रीको प्रयोगबाट विद्यार्थीमा प्रयोगात्मक शैलीको विकास भै जिज्ञासा बढ्छ । जिज्ञासा नै सिकाइको पहिलो खुड्किला हो । त्यसैले जिज्ञासा जगाउने खालका क्रियाकलाप गराउँदै सिकाउनु आजको युगको आवश्यकता हो ।

निश्चित रुपमा मानिसले आपनो उद्देश्यप्रति निष्ठा भए उपलव्धि अवश्य हुन्छ । उद्देश्य नभुलेर गरेका काममा सहजताको खाेजी गर्दै जाँगरका साथ लागिन्छ । जागिरे मानिसिकताबाट अलिकति माथी उठेर सामाजिक भावनाका साथ आफ्नाे जिम्मेवारी पुरा गरे पक्कैपनि शिक्षक समाजमा सम्मानका साथ रहन सक्छन् ।

समयमै यसो नभए सामाजिक रुपमा लागिरहेको ठग र अशक्षम  को आरोपले हागाँ हाल्छ । आरोपले झाँगिएको रुखको छहारीमा बसेर निराशाको बादल हेरेर मनमनै आत्मा आलोचित बन्नु कति असहज होला ? कल्पना समेत गर्न सकिन्न । त्यसैले समयमै चाहे हामी केहि गर्न सक्छौँ । जसले गर्दा हामीलाई समाजले सम्मान दिन्छ । हामि पनि समाजको चाहनाको सम्मान गरि आजै देखि आफैँले आफैँलाइ रुपान्तरण गरि शिक्षामा सुधारको थालनी गरौँ । बाचा गरौँ । हामी सामाजिक भावले सेवामा लागौँ । सफलता निश्चित छ । आाफैँमा छ । त्यसलाइ चिनौँ । सिर्जनशीलता बढाऔँ ।  किन ढिला गर्ने ? आजै देखि थालौँ ।


अवको हाम्रो बाटो
मानवशास्त्रको विद्यार्थीकाे नाताले हरेक विकास मानवीय विकासको केन्द्र नै हूनपर्छ भन्ने विचारसँग म नजिक रहन चाहान्छु ।  त्यसैले यो कार्यक्रम केवल इमरजेन्सिमा मात्र होइन, अभियानका रुपमा नै चलिरहन आवश्यक छ । यो कार्यक्रमको मूल भाव नै मानव विकास भएकोले मानव विकासले विकासका रुपमा निम्न चार खम्बालाई आधार मान्दछ ।

(क) विकासको सरोकारका रुपमा जनतालाई केन्द्रमा राखिनु पर्छ ।

(ख) विकासको उद्देश्य केवल आम्दानीलाई मात्र नभई सम्पूर्ण मानवीय छनौटलाई विस्तार गरिनुपर्छ ।

(ग) मानव विकासले मानवीय क्षमता अभिवृद्धि र त्यसको पूर्ण उपयोगँसग सरोकार राख्दछ ।

(घ) मानव विकास समता ,दिगोपना ,उत्पादन र सशक्तिकरणलाई मूलमन्त्र ठान्दछ ।

यसरि आधारभूत चारखम्बाबाट निर्मित मानव विकासका लागि गरिएको प्रयासका लागि प्रत्यक्ष सम्पर्कमा रहने सामाजिक परिचालक प्रत्येक कायक्रममा वि. व्य. स. लाई सहभागि बनाउँदा परिवर्तनको अपनत्व समाजले लिन्छ भन्ने निष्कर्ष छ ।  जसबाट क्षमता अभिवृद्धि हुनुका साथै समतामूलक विकास ,दिगोपना ,र सशक्तिकरणमा सहयोग पुग्दछ ।

हामीहरुको कार्यत्रममा यो पाटो अलि कमजाेर छ । काममा इमान्दारी भएपनि आपसी समन्वयको अभावले प्रतिफल देखिएको छैन । संख्यात्मक उपलब्धिपछि देखिने गुणात्मक उपलब्धि फितलो बन्न सक्ने चिन्ताले बेलाबलामा घोतल्छ । तर योजना निमार्ण र अनुभवको साटासाट ले पूर्ण मौका पाएको छैन । किनकि हाम्रो कार्यक्रमको ढाँचा आएपनि कार्यान्वयनको योजना प्रभावकारी बनेको छैन । त्यसैले अब हामी  यसरी अगाडी बढनुपर्छ ।

(क)विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुरुप कार्यान्वयन योजना ठोस रुपमा बनाउन सर्वपक्षीय छलफलबाट ठाेस कार्यमा लागौँ ।

(ख) समन्वयात्मक कामको बाँडफाँड गरी कामप्रतिको उत्तरदायित्व बहन गरी कामको अपनत्व लिने र गल्तिको महसुस गरी आफूले आफैँलाइ सच्याउने कोशिस गरौँ ।

(ग) हतारमा काम सकाउने बहानामा ठाडो आदेश हाेइन रणनीतिक योजना बनाएर निरन्तर काममा लागौँ ।

(घ) सहयात्रीका अनुभव र विचारलाई समेटदै समान व्ययभारबाट परिचालित होऔँ ।

यी चारवटा मुख्य तत्वलाइ समेटेर अगाडी वढौँ । समाज परिवर्तनको अभिभारा बोकेका हामी पहिले आफैँलाई बदलौँ ।  विकशित  र सभ्य समाज निर्माण सम्भव छ । सफलता निश्चित छ ।


लेखक – भविन्द्र घिमिरे
वहुआयाकि सेवा केन्द्र नेपाल
अर्घाखाँचि
फोन ९८५७०१०४३३


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...