एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क


एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क

नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराए । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए।

मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न शनिबार १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए। यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १००, काठमाडौँ महानगरपालिका वडा नं १४ का अध्यक्ष शोभा सापकोटामार्फत वडाको सार्वजनिकस्थल एवं कोरोना सङ्क्रमितका घरघरमा रोप्न ४०० बिरुवा हस्तान्तरण गरिएको छ ।

बल्खु क्षेत्रको भुवनेश्वर मन्दिर वरपरसमेत गुर्जो रोपिने वडा कार्यालयले जनाएको छ । १४ नं वडामा हाल आइसोलेसनमा बसेका ३०० जनालाई गुर्जोको बिरुवा, गुर्जोबाट बनेको रोग प्रतिरोधी क्षमता बढाउने चियासमेत वितरण गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नं २ मैत्रीनगरस्थित आदर्श पाञ्चायन वाटिकामा रोप्न २०० बिरुवा वितरण गरिएको छ ।

कोरोना सङ्क्रमित भई आइसोलेसनमा बस्नुभएका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पनि गुर्जोको बिरुवासँगै चिया एवं धुलोसमेत उपलब्ध गराइएको छ । आचार्यका छोराले कुपण्डोलमा चलाउनुभएको दृग क्याफेमा पुगी हाँस्य कलाकार आचार्यसहित त्यहाँ कार्यरत कर्मचारीलाई समेत गरी १०० गुर्जोका बिरुवा वितरण गरिएको छ । यसअघि राजधानीका वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराउनुभएको छ । उनले हालसम्म देशभर गरी ९५ हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिएको बताएका छन्।

गुर्जोको बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्याउँदै आएका छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...