दुई महिनामा पाँच गैँडा मरे


दुई महिनामा पाँच गैँडा मरे

नवलपुर | चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका हुन् । भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए । “यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चारवटा गैँडा कालगतिले मरेका छन्”, निकुञ्जका सूचना अधिकारी रामले भने, “भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ ।”

चितवन राष्ट्रिय निकुञ्जमा यो आव शुरु भएपछि साउन १७ गते पहिलो गैँडा मृत फेला पारेको थियो । त्यसपछि भदौ ६ मा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएकामा त्यो गैँडा कालगतिले नमरेको रामले बताए ।

“भदौ १६ गते निकुञ्जको सुरक्षा टोलीले गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोली निस्किएको थियो”। “खोजीमा निस्किएको टोलीले पाँच दिनपछि भदौ २१ गते बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पार्यो ।” भदौ २१ गते मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिएको भए पनि टाउकोमा गोली लागेको घाउ भेटिएको रामले बताए । टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए ।

दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए । पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन् ।

निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् । त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए भने चालू आव २०७७/७८ मा पाँचवटा गैँडा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष गैँडा गणना गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको थियो । गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । त्यस्तै निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...