गोल्डेन ब्वाई चम्किएको खेलमा डर्टमण्डको सानदार जित


गोल्डेन ब्वाई चम्किएको खेलमा डर्टमण्डको सानदार जित

काठमाडौं । एर्लिन ब्राट हालान्डले दोस्रो हाफमा ह्याट्रिकसहित चार गोल गरेपछि जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले हेर्था बर्लिनमाथि शानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले हेर्थालाई उसैको मैदानमा ५-२ ले पराजित गरेको हो ।

खेलमा एक गोलले पछि परेको अवस्थामा डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गरेको हो । हालान्डले १५ मिनेटमै ह्याट्रिक गरेपछि डर्टमण्डले शानदार जित हात पारेको हो । ३३औं मिनेटमा माथेउज कुन्हाले गोल गर्दै घरेलु टोली हेर्थालाई पहिले अग्रता दिलाएका थिए । हेर्थाले पहिलो हाफमा अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा हालान्ड चम्किए । हालान्डले ४७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसको दुई मिनेटपछि नै हालान्डले गोल गर्दै डर्टमण्डलाई पहिलो पटक अग्रता दिलाए । ६२औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे भने डर्टमण्डलाई ३-१ को अग्रता दिलाए । ७०औं मिनेटमा राफेल गुरेइरोले गोल गरेपछि डर्टमण्डले ४-१ को अग्रता बनायो ।

७९औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर घटाउन प्रयास गरे । तर ७९औं मिनेटमै हालान्डले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौ गोल गरे ।

८६औं मिनेटमा हालान्डकै स्थानमा मैदान प्रवेश गर्दै डर्टमण्डका युसुउफा माउकोकोले कीर्तिमान बनाए । माउकोको बुण्डेसलिगामा डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले १६ वर्ष १ दिनको हुदा बुण्डेसलिगामा डेब्यु गरेका हुन् ।

यो पनि: हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड

यो पनि: साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकियो


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...