गरिबी न्यूनीकरणमार्फत दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न वित्तीय समावेशीकरण अपरिहार्य रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
दक्षिण एसियाली राष्ट्र अहिले पनि गरिबीको चपेटामा रहिरहेको सार्क फाइनान्स भर्चुअल सेमिनारको उद्घाटन सत्रमा गभर्नर अधिकारीले बताएका हुन् । बदलिँदो परिस्थितिमा उद्यम व्यवसाय सञ्चालन गर्न कठिनाइ रहेको बताउँदै यसका लागि विभिन्न नीतिगत परिवर्तनमार्फत सम्बोधन गरिएको जानकारी दिएका छन् ।
सार्क सचिवालयका महासचिव इस्ला रुवाना वयराकोनले सन् २००७ देखि नै सार्कमा वित्तीय समावेशीकरणको एजेण्डा प्रवेश भएको बताउँदै सो क्षेत्रको वित्तीय समावेशीताको अवस्थाबारे जानकारी दिए । साथै, बंगलादेश बैंकका गभर्नर फजल कबीरले बंगलादेशको वित्तीय समावेशीकरणको इतिहास एवं वर्तमान अवस्था तथा दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीताका चुनौतीहरूबारे जानकारी दिए ।