काठमाडौं | ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार ४ः३१ बजेसम्म २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको छ । कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको हो ।
यसआधारमा, सर्वसाधारणले हालसम्म माग भन्दा ७.३० गुणा बढी आवेदन दिएका छन् । यो आइपीओ भर्ने मंगलबार अन्तिम दिन हो । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गरेको हो । ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी बिक्री गरिएको हो ।