काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर भेट गरेका हुन् ।
यसअघि आजै होटल याक एण्ड यतिमा परराष्ट्रसचिव स्तरीय बैठक बसेको थियो ।नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बैठक सकेर विदेशसचिव श्रृंगला मन्त्री ज्ञवालीसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन्।
सचिवस्तरीय वार्ता सकिएपछि विदेश सचिव श्रृंगलाले दुई देशको आपसी हितका विषयमा छलफल भएको संचारकर्मीसमक्ष बताएका थिए। काठमाडौंमा एक वर्षपछि नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक भएको छ।
सचिव पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणमा आएका श्रृंगलालाई त्रिभुवन विमानस्थलमा सचिव पौडेलले स्वागत गरेका थिए। विमानस्थलमा आफ्नो दुई दिने नेपाल भ्रमणको तालिकाबारे जानकारी दिएका श्रृंगलाले भोलि गोरखा र मनाङको समेत भ्रमण गर्ने बताए।