काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई १ अर्ब २४ करोड घोटालामा कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ ।
उनी स्वास्थ्य मन्त्री रहँदा कोभिड– १९ को माहामारी रोकथाम तथा नियन्त्रणका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्काकाण्डमा उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिकोे सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग अनुसन्धान आयोगको सचिवलाई पत्रलेखी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।
समितिले आयोगलाई लेखेको पत्रमा समितिको गत पुस ३ गते बसेको बैठकले गरेको निर्णयको कार्यान्वयनका लागि पत्राचार गरेको उल्लेख गरिएको छ। खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरुले तत्कालै टिप्पणी गर्नुका साथै खरिद प्रक्रियामा घोटाला भएको भन्दै विरोध जनाएका थिए।
गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वयन गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ ।
तर, सोही प्रकृतिका सामग्री खरिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को निर्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत अख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अख्तियार दुरुपयोग गरेको अभियोग समितिले लगाएको छ।