हिँडेरै ७७ जिल्ला घुमेका शरद ' मेरो दृश्यमा नेपाल ' लिएर आउँदै


हिँडेरै ७७ जिल्ला घुमेका शरद ' मेरो दृश्यमा नेपाल ' लिएर आउँदै

जोसुकै मानिसलाई जिन्दगीमा घुम्ने र प्राकृतिक सुन्दरताका साथै अन्य अनुपम सौन्दर्यहरु सँगाल्ने रहर हुन्छ।तर, रहर मात्र भएर हुँदैन । त्यसका लागि व्यक्तिमा दृढ इच्छाशक्ति र दर्हो आत्मबल भएमात्र रहरहरु पुरा गर्न सकिन्छ ।‌‌त्यस्तै उदाहरण बनेका छन् काभ्रेपलञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वार्ड नम्बर ७ मा जन्मिएका शरद कोईराला।

विक्रम संवत् २०५६ वैशाख ३ गते पिता राजन प्रशाद कोईराला र माता रञ्जिता कोईरालाको काखबाट जन्म लिएका शरदले सानै उमेरमा पैदलै हिँडेर नेपालका ७७ वटै जिल्लाको भ्रमण गरिसकेका छन्।

सानो हुँदा टिभीमा डिस्कभरी च्यानलबाट प्रशारण हुने कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' हेर्दै उनले मनमा आफुपनि संसार घुम्ने सपना बनाएको बताए।

"म्यान् भर्सेस वाइल्डबाट नै म घुम्नका लागि प्रेरित भएको हुँ।" उनले भने।

२०७४ साल भदौ २० गतेबाट उनले नेपालको भ्रमण सुरु गरेर ४६६ औं दिनमा पुरै ७७ जिल्लाको पैदल भ्रमण पुरा गरेका थिए।यो क्रममा कैयौँ बाधा अड्चनहरु आइपरेपनी आफ्नो दृढता र सहयोगी मनहरुको सत्कार्यको कारण आफ्नो यात्रा सफल भएको उनी बताउँछन्।

भ्रमणबाट तपाईंले के पाउनुभयो त भन्ने प्रश्नमा उनी भन्छन् -"नेपालको चार कुनासम्म पुग्न सकेँ, अनेक अनुभव सँगाल्ने अवसर पाएँ।यो क्रममा भोक, निन्द्रा र थकानलाई सकेसम्म नजिकबाट नियाल्न र अझ भन्दा भोग्न पाएँ ।"

घुम्न मन हुने तर घुम्न जान नसक्ने तथा भ्याइएन भन्ने हरुलाई उनी "साँच्चै यात्रा गर्न चाहने मान्छेसँग कुनै बहाना हुँदैन, गर्न चाहनेले जसरी नि गर्न सक्छ।" भन्ने सन्देश दिन्छन्।

नेपाल भ्रमण सकेर उनले विश्व साइकल यात्रा सुरु गरेका थिए तर विश्वभर आइपरेको कोरोना महामारीको कारण उनको यात्रा बीचैमा रोकिएको छ । महामारीभन्दा अघि उनले बंगलादेश, म्यानमार लगायत केही देशहरूमा भने भ्रमण गरिसकेका छन्।

महामारी साम्य भएपछि उनी आफ्नो यात्रालाई अगाडि बढाउने सोचमा छन्।

महामारीले आफ्नो काममा बाधा पुर्याएपछि पनि उनी चुप भने बसेनन् । हालैमात्र उनी आफ्नो यात्रा संस्मरण 'मेरो दृश्यमा नेपाल'  लिएर बजारमा आएका छन्।

७७ जिल्लाको पैदल यात्राको झझल्कोलाई ताजै राख्नका लागि उनी आफ्ना जीवनका सुन्दर पलहरुका साथमा यो पुस्तक लिएर आएका हुन् । उनी यो पुस्तक सबैले पढुन र जीवनमा एकचोटी भएपनि सबैले नेपालका सबै जिल्ला भ्रमण गरुन् भन्ने चाहन्छन्।

उनको पुस्तक ' मेरो दृश्यमा नेपाल ' केही समयमा नै बजारमा आउँदैछ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...