एबी डी भिलियर्स र धवन चम्किदा बैंगलोर र दिल्लीको जित


एबी डी भिलियर्स र धवन चम्किदा बैंगलोर र दिल्लीको जित

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित निकालेको छ भने दिल्ली क्यापिटल्स पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै बैंगलोरले छैटौं जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बैंगलोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । बैंगलोरको जितमा निर्णायक इनिङ्स खेलेका उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे ।

जितसँगै बैंगलोरले ९ खेलमा १२ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।पराजित राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ ।

शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए ।

जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो ।चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...