नेपाल इन्फ्रास्टक्चर बैंककाे आइपीओमा निवेदन दिने आवेदकहरूकाे संख्याले नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार बेलुका ५ बजेसम्मका लागि खुला गरिएकाे आवेदनमा १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएकाे बिक्री प्रवबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएकाे छ । याे संख्या आइपीओमा आवेदन दिनेमध्ये आजसम्मकै धेरै हाे ।
याेभन्दा अघि चन्द्रागिरी हिल्सकाे आइपीओमा १२ लाख १५ हजारकाे हाराहारीमा आवेदन परेकाे थियाे ।
इन्फ्रास्टक्चर बैंकले सर्वसाधारणका लागि ८ कराेड कित्ता आइपीओ जारी गरेकाे थियाे जसमध्ये ०.२० प्रतिशत कर्मचारीकाे लागि छुटयाइएकाे छ । त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी काेषलाइ छुट्याइएकाे छ । बाँकी रहेकाे ७ कराेड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण जनताले पाउने भएका हुन् ।
आवेदन दिनेकाे संख्या र बिक्री खुला गरिएकाे आइपीओकाे संख्या हेर्दा सर्वसाधारणले ५० कित्ताकाे हाराहारीमा शेयर पाउने देखिन्छ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।