durbar-times

गणतन्त्र नै जनताको पराजय हो?


गणतन्त्र नै जनताको पराजय हो?

गणतन्त्र अर्थात् जनताको तन्त्र अथवा जनताको राज्य भन्ने हुन्छ । वि. सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको आज १३ वर्ष पूरा भएर १४ वर्ष लागेको छ ।

गणतन्त्र दिवसको अवसरमा देशमा प्रधानमन्त्री , राष्ट्रपति लगायत अन्य ठूला व्यक्तिहरूबाट शुभकामना मन्तव्य जारी हुने गरेको छ । त्यही अवसरमा आज सम्माननीय राष्ट्रपतिबाट जारी भएको सन्देशमा गणतन्त्र दिवस जनताको विजयोत्सवकाे रूपमा मनाउन आग्रह गरिएको छ ।

२०६५ सालम जेठ १४ गते नेपाल गणतान्त्रिक मुलुक घोषणा हुँदा आम जनतामा यो व्यवस्था र राज्यसंयन्त्रप्रति विभिन्न प्रश्नहरू थिए । वि. सं.२०७२ साल असोज ३ गते नेपालको संविधान जारी हुँदा संविधानको प्रस्तावनामा नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनी घोषणा गरियो । यसअघि उठेका आम प्रश्नहरूको जवाफ यो संविधानले केही मात्रामा पूरा गर्ने प्रयास गर्यो । तर जब संविधानको कार्यान्वनयन गर्ने समय आयो त्यतिबेला जनताहरुमा निराशा छाउन थाल्यो ।संविधानबमोजिम तोकिएका प्रतिनिधि सभा ,प्रदेश र स्थानीय तहहरुको चुनावपछिको नेपालको परिदृश्यले नेपालमा संघीय गणतन्त्र जनताको पराजय पो थियो कि भन्ने अर्को गम्भीर प्रश्न उठ्न थालेको छ ।

एउटा देशको आम नागरिक जब शासन सत्ता सम्हाल्न पुग्छ तब उसले अन्य आफूजस्तै धरातल भएका जनताहरूको बारेमा सोच्छ र राज्यसंयन्त्रलाई त्यसतर्फ आकर्षित गर्छ भन्ने जनताहरूको आशामा अहिले तुषारापात भएको अवस्था छ । अघिल्लो वर्षदेखि सुरु भएको कोभिड १९ को महामारीमा समेत यो कुरा प्रष्ट भइसकेको छ । अत्यावश्यक औषधिजन्य वस्तुमा चरम भ्रष्टाचार , कमिसनको लोभमा सामाग्री आयातमा रोक , सत्ताका लागि खोपको सटही जस्ता कुराले जनताको पराजय नै गणतन्त्र हो भन्ने प्रष्ट हुँदै आएको छ ।

विगत १३ वर्षमा देशमा नीतिगत भ्रष्टाचार बढेको छ भने भ्रष्टाचारीलाई कारबाही गर्न सरकार असमर्थ रहेको छ । प्रधानमन्त्री नै भ्रष्टाचारी जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् । योभन्दा ठूलो पराजय जनताको लागि के हुन सक्छ ? हजारौं शहीदहरूको बलिदानमार्फत प्राप्त भएको गणतन्त्रमा खुंखार अपराधीहरूलाई आम माफी दिने छुट राष्ट्रपतिलाई प्राप्त भएको छ । पीडितको आँखै अगाडि पीडक हास्दै आम माफी प्राप्त गर्छ भने त्यो भन्दा ठूलो पराजय के हुन सक्छ ?

जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्न नसक्ने , स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार लिप्त रहने , अपराधीहरुको संरक्षकमा सरकार नै रहने अनि निमुखा जनताहरू भने सधैँ भुइँको धूलो नै रहिरहने हो भने जनताले लडेर ल्याएको याे गणतन्त्र कसरी विजयोत्सवकाे रुपमा मनाउन सकिन्छ ?

पञ्चायतकाल देखि राजनीतिमा होमिएकाहरुले आफूले जे भोगे अहिले जनतालाई पनि त्यही भोग्न बाध्य पारिरहेका छन् । आफ्ना भरौटेहरुलाई समेत त्यही कुरा सिकाएका छन् । संविधान, ऐन, कानुनलाई यिनीहरू मात्र कागजको खोस्टा सम्झिरहेका छन् । जनताको आँशुमा सत्ता चपाइरहेका यस्ता आउटडेटेड नेतृत्वबाट जनताले केही आशा गर्न सक्दैनन् ।

जबसम्म यस्ता सत्तापिपासु नेतृत्व रहन्छन् तबसम्म जनताले सुखको सास फेर्न पाउने देखिदैन । जनताले विजयोत्सव त्यो दिन मनाउनेछन् जुन दिन यी र यस्तै कालाबजारी गर्नेहरू , भ्रष्टाचारीहरु र अपराधीहरूले राज्यबाट दण्ड पाउनेछन् र जनताले सुरक्षित भएर खुशीसाथ बाँच्न पाउने छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send