सामाजिक संजालमा आउने सबै कुराहरु उपयुक्त हुन्छन भन्ने हुन्न, यो सबै सामाजिक संजालका प्रयोगकर्ताले दैनिक भोगेको कुरा हुनुपर्छ। कतिपय यस्ता कुराहरु पनि हाम्रो फोनमा देखा पर्छन जुन बाल-बालिकाबाट टाढै राख्नु अत्यन्त जरुरी हुन्छ। नराम्रो, अभद्र, अश्लील यस्ता विभिन्न वस्तुको प्रभाव आफ्ना बच्चामा नपरोस भन्ने सबै अभिभावकको इच्छा हुन्छ तर सामाजिक संजालमा आउने सामाग्री (कन्टेन्ट) लाई नियन्त्रण गर्न नजान्दा अभिभावक अन्योलमा हुन्छन्।
नचाहिँदो सामाग्रीबाट आफ्ना सन्तानलाई जोगाउन कोही स्मार्ट फोन नै उपलब्ध गराउन्नन भने कसैले त्यस्ता सामाग्री लक गर्न जानेका हुन्छन्। हामीले आज बहुचर्चित र विशेषत बच्चाहरु मध्य पनि राम्रो प्रभाव पारेको टिकटकलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकारी प्रस्तुत गरेका छौं।
कुनै पनि व्यक्तिले नयाँ टिकटक अकाउन्ट बनाउँदा यदि उसले १८ वर्ष मुनि भएको भन्दै अकाउन्ट रजिस्टर(साइन–अप) गर्छ भने टिकटकले स्वत भिडियो छनौट गरेर मात्र उसको प्रोफाइलमा देखाउँछ।
उनीहरूको अकाउन्टबाट ‘एडल्ट कन्टेन्ट(बच्चा-बच्चीले हेर्न नहुने)’ हेर्न प्रतिबन्ध लगाइन्छ।
तर धेरैले टिकटक साइन–अप गर्दा १८ वर्ष नाघेको जानकारी दिन्छन्। किनभने उनीहरु विभिन्न विषयका भिडिओ हेर्न चाहन्छन्। त्यसैले नाबालिक भएपनि टिकटक अकाउन्टमा १८ वर्ष कटेको छ भन्ने हुँदा विभिन्न सामग्री उक्त अकाउन्टमा देखाउँछ।
यस्तो अकाउन्ट बनाउँदा पनि अभिभावकले चाहेको खण्डमा आफ्नो बच्चा-बच्चीको अकाउन्ट तीन तरिकाबाट निरीक्षण गर्न सक्छन्। अभिभावकले आफ्नो टिकटक अकाउन्ट बनाएर वा नबनाइकनै निगरानी गर्न सक्छन्।
पहिलो तरिकाः
- यसको लागि पहिले तपाईंको टिकटक अकाउन्ट हुनु जरुरी छ। छैन भने नयाँ अकाउन्ट साइन–अप गर्ने।
- त्यसपछि आफ्नो छोरा-छोरीको टिकटक अकाउन्ट खोल्ने।
- टिकटकको सेटिङमा जाने।
- त्यहाँ ‘फ्यामेली पेयरिङ’ भन्ने विकल्प हुन्छ, त्यो छनौट गर्ने।
- यसको क्युआर बारकोड पत्ता लगाउने र यसबाट तपाईंको (अभिभावक) अकाउन्ट र आफ्नो छोराछोरीको अकाउन्ट पहिचान गर्ने र दुई अकाउन्ट पेयर गर्ने।
यसो गर्दा अभिभावकले आफ्नो छोराछोरीले कस्तो प्रकार र विषयको कन्टेन्ट हेर्न सक्छन् भन्ने नियन्त्रण गर्न मिल्छ। यति मात्र होइन, उनीहरुको अकाउन्टमा कसले मेसेज पठाउन मिल्छ–मिल्दैन भन्ने पनि अभिभावकले नै नियन्त्रण गर्न मिल्छ। निजी च्याट, मेसेज केही छन् भने ब्लक गरिदिन सकिन्छ।
तपाईंले यस्तो गर्नुभएको थाहा पाएर केटाकेटीले तपाईंको अकाउन्टबाट आफ्नो अकाउन्ट ‘अनपेयर’ अर्थात् अभिभावक अकाउन्ट हो भन्ने पहिचानबाट हटाइ हाल्यो भने पनि तपाईंले सूचना पाउनु हुनेछ। र, ४८ घण्टा भित्र पुनः अकाउन्ट पेयर गर्न सक्नुहुन्छ।
तपाईंले आफ्नै नयाँ टिकटक अकाउन्ट नखोली बच्चाको अकाउन्ट भने सुरक्षित गराउन खोज्नु भएको हो भने अर्को पनि विकल्प छ।
दोस्रो तरिकाः
- यसको लागि पहिले छोरा–छोरीको टिकटक सेटिङमा जाने
- त्यहाँ ‘डिजिटल वेलबिइङ’ भन्ने हुन्छ, त्यो छनौट गर्ने
- त्यसपछि ‘रेस्ट्रिक्टेड मोड’ अन गर्ने (यो प्रतिबन्धित मोड हो)
- नयाँ पासवर्ड राख्ने
यसो गरेपछि त्यो अकाउन्टबाट उपयुक्त भिडिओहरू मात्र हेर्न मिल्ने हुन्छ। यद्यपि हरेक ‘अनुपयुक्त’ कन्टेन्ट त्यो अकाउन्टबाट देखाउँदै नदेखाउने भन्ने ग्यारेन्टी टिकटकले लिँदैन।
तेस्रो तरिकाः
- यसको लागि पहिले छोरा–छोरीको टिकटक सेटिङमा जाने।
- प्राइभेसीमा जाने।
- त्यहाँ ‘प्राइभेट अकाउन्ट’ छनौट गर्ने र अरुको अकाउन्ट सुझाव दिने भन्ने विकल्पलाई ‘स्वीच अफ’ गर्ने।
पहिलो तरिकाले अरू प्रयोगकर्ताहरुले बच्चाको अकाउन्टबाट पोष्ट भएका भिडिओहरु हेर्न मिल्ने हुन्छ। दोस्रो तरिकामा भने कुनै पनि व्यक्तिलाई तपाईंको छोरा–छोरीको अकाउन्ट हेर्नबाट नै प्रतिबन्ध लगाइन्छ। अकाउन्टबाट साथी भएकाले मात्र अकाउन्टबाट पोष्ट भएका कन्टेन्ट र भिडिओ हेर्न सक्छन्।
यसरी अभिभावकहरुले आफ्नो बच्चाको टिकटक अकाउन्ट सुरक्षित बनाउन सक्छन्।