इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटली लिग ए को समूह एकको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने बेल्जियम लिग ए को समूह दुईको विजेता बन्दै सेमिफाइनल पुगेको हो ।
समूहको अन्तिम खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटली समूह विजेता बनेको हो । जितपछि इटली ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो ।
अर्को खेलमा पोल्याण्डलाई २-१ ले पराजित गरेको नेदरल्याण्ड्सले समान खेलबाट ११ अंक जोड्यो । नेदरल्याण्ड्सले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो । हारपछि पोल्याण्ड ७ अंकसहित तेस्रो स्थानमा रह्यो । २ अंक मात्र जोडेको बोस्निया समूहमा अन्तिममा रहँदै रेलिगेट भएको छ ।
यस्तै डेनमार्कलाई ४-२ ले पराजित गर्दै बेल्जियम समूह दुईको विजेता बन्यो । बेल्जियम र डेनमार्कमध्ये जित हात पार्ने टोली समूह विजेता बन्थ्यो । बेल्जियमलाई बराबरीले पनि समूह विजेता बन्न पर्याप्त थियो भने डेनमार्कले जित्नैपर्ने थियो जस्मा बेल्जियमले जित हात पार्यो । जितपछि बेल्जियम १५ अंक जोड्दै समूह्य विजेता बन्यो भने १० अंक जोडेको डेनमार्क इंग्ल्याण्डलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा रह्यो ।
इंग्ल्याण्डले अन्तिम खेलमा आइसल्याण्डलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि फिल पोडेनले दुई तथा डेक्लान रिस र मासोन माउन्टले एक-एक गोल गरे । आइसल्याण्डका बिकिर सेभरासनले ५४औं मिनेटमा रातो कार्ड पाएका थिए ।
इटली र बेल्जियमले सेमिफाइनलमा स्थान बनाएपछि अन्तिम चारमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । यसअघि नै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
गत संस्करणको विजेता पोर्चुगलसहित अन्तिम चारमा पुगेका चारवटै टिम यस पटक भने समूह चरण पार गर्न असफल रहे । पोर्गुचल, नेदरल्याण्ड्स, इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड गत वर्ष अन्तिम चारमा पुगेका थिए ।

