नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।
पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीको योजनाअनुसार काम नगरेकाले हटाउने तयारी भएको उनले दाबी गरे ।
आफूपक्षीय युवा संघका कार्यकर्ताको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको कम्युनिस्ट आदर्शलाई उल्लंघन गरेका कारण ओलीमाथि कारवाही गरिएको बताएका हुन् ।
तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन, जनताले निर्वाचित गर्दैमा प्रधानमन्त्री बनिने भए प्रतिनिधि सभाका २७५ जना नै प्रधानमन्त्री बन्ने थिए,’ प्रचण्डले भने, ‘तपाईंलाई पार्टीले प्रधानमन्त्री बनाएको थियो । पार्टीले चाहेपछि तपाईंलाई फेर्न खोजिएको हो । अनुशासनमा राख्ने, नभए कारवाही गर्ने तयारी थियो ।’
प्रचण्डले आफूहरू केपी ओलीभन्दा पनि ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा होमिएको बताए ।
‘हामीले लडेर ल्याएको परिवर्तनको दस्तावेजीकरणको रूपमा रहेको संविधानमाथि प्रहार गर्दा सिंगै देश स्तब्ध भयो, त्यसैले हामी आन्दोलनमा जानुपर्यो,’ उनले भने ।