जो बाइडेन बने आमेरिकि रास्ट्रपति , यस्ता छन् बाइडन जीतका ५ कारण


जो बाइडेन बने आमेरिकि रास्ट्रपति , यस्ता छन् बाइडन जीतका ५ कारण

झन्डै पाँच दशक लामो सार्वजनिक जीवन र जीवनभर एउटा उद्देश्य लिएर अगाडि बढेका थिए, जो बाइडेन । उनको त्यो उद्देश्य थियो– ह्वाइट हाउसमा प्रवेश गर्नु । अन्ततः आफ्नो लामो समयको इच्छा र चाहनामा उनी सफल भएका छन्, उनले अब ह्वाइट हाउसमा प्रवेश पाएका छन् ।

अहिले अमेरिकामा भएको निर्वाचन कसैले पनि सोचेको जस्तो भएको थिएन । कसैले पनि यसलाई सहज रुपमा पनि लिएको थिएन । सदियौँमा एक पटक आउने विश्व महामारीबीच भएको यो निर्वाचन अभियान त्यहाँ सुरु हुँदा नै राजनीतिक अस्थिरता अमेरिकामा देखिएको थियो । त्यसैले कतिले यसपटक निर्वाचन फेरि ट्रम्पले जित्ने अनुमान पनि गरेका थिए ।

तर, ती अनुमानहरु गलत भए । बाइडेन अब अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

यसका कारण के होलान् ?

डेलावेयरमा कार बेच्ने व्यक्तिका छोरा बाइडनले राष्ट्रपति चुनाव जित्नुमा प्रमुख पाँच कारण छन् ।

१. कोभिड
बाइडन राष्ट्रपति बन्नुमा सबभन्दा ठूलो कारण कोभिड हो । यस महामारीले अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी मानिसको ज्यान लिएको छ र सन् २०२० मा अमेरिकी जीवन र राजनीतिलाई उलटपुलट पारेको छ ।

आमनिर्वाचन अभियानको अन्तिमतिर आएर बल्ल डोनल्ड ट्रम्पले यसलाई स्वीकारे ।

‘झूटो समाचार दिनेहरूका लागि सबैथोक कोभिड, कोभिड, कोभिड हो,’ राष्ट्रपतिले विस्कोन्सिनमा अघिल्लो साता आयोजित एक भेलालाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

जनताको चिन्तालाई प्रतिबिम्बित गर्नका लागि मिडियाले कोभिडमा ध्यान दिएका हुन् । राष्ट्रपतिले कोरोना संकट व्यवस्थापन गर्न नसकेकाले जनताले दण्ड दिए ।

अघिल्लो महिना प्यु रिसर्चले गरेको सर्वेक्षणमा कोभिड व्यवस्थापनको सवालमा ट्रम्पको तुलनामा बाइडन बढी सक्षम साबित हुने छन् भनी १७ प्रतिशत बढी मानिसले मत दिएका थिए ।

ट्रम्पले आर्थिक वृद्धि र समृद्धिको सन्देशलाई चुनावी अभियानको केन्द्रमा राखेको भए पनि महामारी र त्यसले निम्त्याएको आर्थिक अवनतिले उक्त सन्देशलाई फितलो बनाइदियो । महामारी व्यवस्थापनमा ध्यान नदिने, विज्ञानमाथि प्रश्न गर्ने, साना तथा ठूला नीतिमा लथालिंगे पारा देखाउने र आफ्ना समर्थकप्रति पक्षपाती रहने ट्रम्पको बानीले अमेरिकीहरूलाई चिन्तित बनाएको थियो । महामारी व्यवस्थापनमा चुकेकाले ट्रम्पको समर्थन सूचकांक घट्यो र बाइडनले त्यसको फाइदा उठाए ।

२. शान्त चुनावी अभियान
आफ्नो राजनीतिक करीयरमा बाइडनले बोलीमा नियन्त्रण नराख्दा आफैंलाई समस्यामा पार्ने गरेका छन् । सन् १९८७ मा पहिलोपटक राष्ट्रपतिको उम्मेदवार बन्नका लागि लड्दा उनले अवाञ्छित कुराहरू बोलेर आफैंलाई कुठाराघात गरे । सन् २००७ मा फेरि एकपटक उम्मेदवार बन्न खोज्दा पनि उनको हाड नभएको जिभ्रोले उनलाई धोका दियो ।

तेस्रो प्रयासमा पनि उनले अनेकौं गल्ती त गरे तर त्यसले उनलाई तात्त्विक असर पारेन ।

यसको एउटा कारण चाहिँ राष्ट्रपति ट्रम्पको अझ जब्बर अनियन्त्रित बोली पनि हो । अनि अमेरिकामा कोरोना महामारी, जर्ज फ्लोयडको मृत्युपछि भएका प्रदर्शन र आर्थिक उथलपुथलले देशको ध्यान खिच्दा पनि बाइडनको अभिव्यक्तितर्फ धेरैको ध्यान गएन ।

तर बाइडनको निर्वाचन अभियानले उनलाई कमै मात्र एक्सपोजर दिएको र दौडादौड नगराएकोले पनि राम्रो काम गर्‍यो । नत्र थाकेको सुरमा वा भूलवश उनले बोलेको कुराले समस्या ल्याइदिन सक्थ्यो ।

यस निर्वाचनमा ट्रम्पको मुखले उनलाई धोका दिएको भन्नुपर्छ ।

३. ट्रम्प बाहेक जोकोही
बाइडनले राष्ट्रको आत्माका लागि भन्ने चुनावी नारा दिएका थिए । ट्रम्प अत्यन्तै विभाजनकारी र उत्तेजक भएकाले अमेरिकी जनतालाई शान्त र स्थिर नेतृत्व आवश्यक छ भनी बताउनु त्यसको आशय थियो ।

डेमोक्रेटहरूले यस निर्वाचनलाई दुई उम्मेदवारबीचको प्रतिस्पर्धा भन्दा पनि ट्रम्पमाथिको जनमतसंग्रहका रूपमा प्रस्तुत गरे ।

बाइडनले आफू ‘ट्रम्प नभएको’ भनी दिएको सन्देशले नै उनलाई विजयी बनायो । बाइडनको जीतले अमेरिकीहरूलाई राजनीतिका बारेमा नसोचिकनै हप्तौं बिताउन सकिने डेमोक्रेटहरूको साझा भनाइ रह्यो । हुन त त्यो मजाक थियो तर त्यसमा सत्यको अंश छ ।

४. मध्यमार्गी उपाय
डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने अभियानका क्रममा बाइडनलाई वामपन्थी खेमाबाट बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनबाट चुनौती आयो । उनीहरूको अभियान आर्थिक रूपमा बलियो थियो र त्यसमा भीड पनि व्यापक आएको थियो ।

उदारवादी खेमाबाट दबाब परेको भए पनि बाइडन मध्यमार्गी रणनीतिमा अडिग रहे । उनले सरकारी स्वास्थ्य सेवा, निःशुल्क शिक्षा वा सम्पत्तिमा कर लगाउने प्रस्तावलाई समर्थन गरेनन् । यसले गर्दा मध्यमार्गीहरूमाझ र असन्तुष्ट रिपब्लिकनहरूमाझ उनको अपील बलियो बन्यो ।

बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पनि यही रणनीतिको हिस्सा हो जबकि उनी पार्टीको वामपन्थी धारबाट कसैलाई उम्मेदवार बनाउन सक्थे ।

वातावरण र जलवायु परिवर्तनका सवालमा बाइडनले स्यान्डर्स र वारेनसँग निकटता देखाए । इन्धन ऊर्जामा आश्रित स्विङ स्टेटका मतदाताहरूलाई चिढ्याएर भए पनि स्वच्छ ऊर्जालाई प्राथमिकतामा राख्ने जवान मतदाताहरूलाई अपील गर्नु सही हुने उनको सोच रह्यो ।

५. धेरै पैसा, कम समस्या
सन् २०२० को आरम्भमा बाइडनको निर्वाचन अभियानमा पैसाको अभाव हुन थालेको थियो । उता ट्रम्प चाहिँ एक अर्ब डलर जति खर्च गरिरहेका थिए ।

तर अप्रिल महिनापछि बाइडनको निर्वाचन अभियानले व्यापक मात्रामा पैसा उठाउन थाल्यो । अक्टोबर महिनामा आइपुग्दा बाइडन अभियानसँग ट्रम्पको भन्दा साढे १४ करोड डलर बढी रकम थियो जसले गर्दा उसले सबै महत्त्वपूर्ण राज्यहरूमा टेलिजिभन विज्ञापनको बाढी नै ल्यायो ।

त्यसो त पैसा नै सबैथोक हैन । चार वर्षअघि क्लिन्टनले पानीको खोलो बगाएकी थिइन् भने ट्रम्पले थोरै पैसा खर्च गरेर चुनाव जितेका थिए ।

तर सन् २०२० मा कोरोनाका कारण अधिकांश अमेरिकीहरूले घरैमा बसेर मिडिया हेरिरहे । यस्तो अवस्थामा बाइडनसँग भएको बढी नगदले पछिसम्म पनि उनलाई मतदाताहरूमाझ बढी पहुँच दियो । उनले टेक्सस, जर्जिया, ओहायो र आयोवा जस्ता रिपब्लिकन किल्लाहरूमा पनि पैसा खर्च गर्न सके । सबै राज्यमा त उनलाई फाइदा भएन तर एरिजोना र जर्जियामा उनको अग्रता हुनु आक्रामक प्रचारबाजीकै कारणले गर्दा हो ।

प्रधानमन्त्री ओलीद्वारा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई
प्रधानमन्त्री केपी ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिएका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ओलीले ट्वीटरमार्फत बधाई दिएका हुन् । > Heartiest congratulations to President-elect @JoeBiden [https://twitter.com/JoeBiden?ref_src=twsrc%5Etfw…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...