कांग्रेस महाधिवेशन फागुनमा नहुने पक्का भएकाे छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको आइतबारको बैठकले क्रियाशील सदस्य नवीकरण र नयाँ वितरणको अन्तिम मितिका सम्बन्धमा निर्णय लियो । निर्णय अनुसार जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको अन्तिम विवरण र आवश्यक कागजात केन्द्रमा बुझाउने मिति २०७७ साल माघ मसान्तसम्म थप गरिएको छ ।
याे प्रक्रिया हेर्दा कांग्रेस महाधिवेशन फागुन ७ मा उद्घाटन हुने सबै सम्भावना टरिसकेका छन् । तर पनि कांग्रेसले महाधिवेशनको नयाँ मिति तोकेको छैन । नयाँ मिति नतोक्नुका कारणबारे नेताहरुको फरक–फरक बुझाई छन् ।
कांग्रेस केन्द्रीय समितिको २०७६ साल माघ १३ गते बसेको बैठकले सर्वसम्मत रुपमा पार्टीको १४ औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
अब कांग्रेस विधानअनुसार नभई नेपालको संविधानअनुसार वर्तमान कार्यसमितिको म्याद अधिकतम ६ महिना थप हुनसक्छ । त्यस्तो अवस्थामा संवैधानिक हिसाबले पनि २०७८ भदौंसम्म कांग्रेस महाधिवेशन भइसक्नुपर्नेछ । कांग्रेस सभापति देउवा भदौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गर्ने तयारीमा छन् । इत्तर पक्षले भने जेठभित्रमा महाधिवेशन सक्नेगरी नयाँ मिति तोक्नुपर्ने बताउँदै आएको छ ।