काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको संक्रमण कम नभएकाले काठमाडौंमा तत्काल विद्यालय नखुल्ने भएका छन्। कक्षा १२ काे परीक्षा सकिएपछि मात्रै उपत्यका मेयर फाेरमकाे बैठकले यसबारे छलफल गरेर निष्कर्ष निकाल्ने जनाएकाे छ।
काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ। पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भएपनि जोखिम कायमै रहेको उल्लेख गर्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो।
कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई विद्यालय सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिएको छ। अहिलेसम्म विद्यालय सञ्चालन गर्नका लागि कुनै पनि विद्यालयले अनुमति नमागेको काठमाडौं महानगरका शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए।
अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको र परीक्षा सकिए पनि उपत्यकाका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्ने उनको भनाइ छ। कारोनाका कारण गत चैतदेखि विद्यालय बन्द छन्। उपत्यकामा संक्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने महानगरले जनाएको छ।