महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीकाे शव भेटिएकाे छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फेला परेको शव हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ । शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको टाउको छुट्टिएको अवस्थामा फेला परेको छ।
उनीहरुको सोही ठाउँमा हत्या गरिएको हो वा अन्त हत्या गरेर त्यहाँ ल्याएर गाडिएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।
गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै बेपत्ता पारिएको थियो।
झा दम्पति मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद भएको स्थानीयले बताए।
सोही कारण उनीहरुको अपहरण भएको स्थानीयको भनाइ छ।