राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला


राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शनिबारदेखि खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए।

इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन/अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उहाँले बताए। देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपाली इतिहासमा दुई सय ४० वर्षीय शाह वंश इतिहासको साक्षात् नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिड–१९ का कारण सम्भव नभएको बताए। अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए। ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाका नाम जिल्लाबाट राखिएको पनि उनले बताए। अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने उनले बताए।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहार स्वरूप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाइजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँ तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार सङ्ग्रहालयमा परिणत भए पनि त्याे सदन बन्द रहेको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...