काठमाडौं | आफूले पाउनुपर्ने भुक्तानी रकम नपाएपछि उखु किसान आन्दोलित भएका छन्। उनीहरुले आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलबाट प्रदर्शन सुरु गरेका छन् ।
माइतीघर मण्डलाबाट सुरु गरेर सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।
उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको विरोधमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरुले श्रम,पसिनाको मूल्य पाउ, पेट छ खालि परिवार भोगले हाहाकार, घर छ टाढा,छैन भाडा हामी किसानको दु:ख बुझिदेउ सरकार, उखु किसानका माग पूरा गर, सरकार किसानलाई बाँच्न देउ, हाम्रो मेहेनतको फल नखोस् आफ्नो पसिनाको फल नखोस्जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।