किसानको पिरलोः पोखरी छ, पानी छैन


किसानको पिरलोः पोखरी छ, पानी छैन

डडेलधुरा | सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा  समस्या भएको छ । अमरगढी नगरपालिका –७  नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताए ।

पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् । बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ । सिंचाइ कार्यालय डडेल्धुराको रु तीन लाखका लागतमा सम्पन्न भएको पोखरी स्थानीयवासीको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीयवासी गगन भण्डारीले बताए ।

पोखरी निर्माण गरिए पनि  मुहानबाट पाइप विस्तार हुन नसक्दा पापानी पुर्याउन नसकिएको स्थानीयवासी दत्तराज जैसीले बताए । पोखरीमा पानी राख्न सके यहाँका भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौँ रोपनी जमीनमा सिंचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ । उनले भने, “पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिंचाइ गर्न समस्या भएको छ ।”

सिंचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन् । “वर्षामा ढिलोचाँडो पानी पर्छ, धान  राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन”, स्थानीयवासी मान भण्डारीले भने, “सिंचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै  खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौँ ।” किसानको सयौँ हेक्टर जमीन सिंचाइ अभावकै कारण वर्षमा सात महिना बाँझो हुन्छ । तीन बाली उब्जनी हुने जमीनमा सिंचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...