काठमाडौँ | सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली सामन्ती शासक श्री ३ महाराजधिराजको बाटोमा हिँडेको आरोप लगाएका छन् ।
संविधानले कल्पना नगरेको बाटो ओलीले समाएको भन्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो ।’ करोडौं नागरिकको मतको अवमूल्यन गर्ने अधिकार प्रधानमन्त्री नभएको भन्दै प्रचण्डले ओलीको कदमको प्रतिरोध गर्ने सबैको दायित्व भएको बताएका छन् । कार्यक्रममा बोल्दै प्रचण्डले सदन नमरेको बताएका छन् ।
साथै, प्रचण्डले सम्मानित अदालतले विघटनको प्रस्ताव खारेज गरिदिने विश्वास व्यक्त गरेका छन् । विघटनबारे संविधानमा प्रष्टसँग लेखिएको भन्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ सम्मानित अदालतले यति सामान्य कुरा संविधानमा बडो प्रष्टसँग लेखिएको यो प्रावधान बुझ्दैन भनियो भने हामी आफै वास्तवमा अदालतको समानप्रति अपमान ठहर्छ भन्ने म ठान्छु ।’
पार्टीभित्र विधान र पद्धति अनुसार पार्टी चल्नुपर्ने र गुटवादी तरिकाले पार्टी चल्नुपर्ने विचारबीच विवाद भए पनि पार्टीभित्रकै संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको दुर्भाग्यपूर्ण भएको प्रचण्डको भनाई छ ।
प्रचण्डले प्रतिनिधि सभा विघटन गरेपछि ओलीको पराजय सुरु भएको र आफूहरुको विजय यात्रा सुरु भएको बताए ।