आज ला लिगा फुटबलमा बार्सिलोना सिजनको पहिलो खेल खेल्दै


आज ला लिगा फुटबलमा बार्सिलोना सिजनको पहिलो खेल खेल्दै

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आज (आइतबार) सिजनको पहिलो खेल खेल्दैछ ।

बार्सिलोनाले सिजनको पहिलो खेलमा भिल्ला रियलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । बार्सिलोना र भिल्लाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

क्याम्प नाउमा भिल्लाविरुद्ध मैदान उत्रदा बार्सिलोना जितबाट सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यान पनि डेब्युमा बार्सिलोनालाई उत्कृष्ट जित दिलाउन चाहन्छ ।

गत सिजन क्लबले उपाधि जित्न नसकेपछि बार्सिलोनाले क्वेक सेटिनलाई बर्खास्त गर्दै डच प्रशिक्षकलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

कप्तान लियोनल मेस्सीसँगै युवा स्टार अन्सु फातीसहित मैदान उत्रने बार्सिलोनाको टिम बलियो समेत छ ।

बार्सिलोनासँग एन्टोनियो ग्रिजम्यान, डी जोङ, पिके जस्ता खेलाडीको साथ समेत रहनेछ । तर, पहिलो रोजाईका गोलकिपर मार्क टेर स्टेगेनले खेल्ने सम्भावना न्यून रहेको छ ।

यस्तै बार्सिलोनामा लुइस स्वारेज हुने छैनन् । उनलाई बार्सिलोनाले एट्लेटिको मड्रिडलाई बेचिसकेको छ । गत सिजन बायर्न म्युनिखबाट लोनमा खेलेका फिलिपे कौटिन्होले भने पहिलो खेल खेल्ने सम्भावना रहेको छ ।

तर, बलियो टिम भिल्लाविरुद्ध बार्सिलोनालाई जित निकाल्न सहज भने हुने छैन ।

किनकी भिल्लाले अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेल्दै सिजनको सुखद सुरुवात गरिसकेको छ ।

भिल्ला बार्सिलोनालाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भिल्ला २ खेलमा ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले घरेलु मैदानमा ग्रानडासँग खेल्नेछ ।

यस्तै ओसासुनाले लेभान्टे, आइबरले एथ्लेटिक बिल्बाओ, सेभियाले काडिज र सेल्टा भिगोले रियल भालाडोलिटसँग खेल्नेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...