काठमाडौं | सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सुचारु भएको छ ।
यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको थियो ।
परीक्षास्थलमा ट्राफिक प्रहरीको उपस्थिति नभएपछि सोमबार लिखित र ट्रायल परीक्षा दुवै स्थगन भएको थियो । ट्राफिक प्रहरी र यातायात कार्यालयबीच विवाद देखिएपछि परीक्षा स्थालमा ट्राफिक प्रहरी उपस्थित नभएपछि दुवै परीक्षा स्थगित गरिएको थियो।
यसले गर्दा लिखित र ट्रायल परीक्षा दिन गएका सर्वसाधारण घन्टौं लाइन बसेर रित्तै फर्किनु परेको थियो । लिखित र ट्रायल परीक्षाका लागि ट्राफिक प्रहरीको प्रतिनिधिको विषयमा सोमबार साँझ ट्राफिक प्रहरी र यातायात कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो ।
मंगलबारदेखि याथस्थितिमा लिखित तथा ट्रायल परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि उपस्थित गराउनेगरी सहमति भएको काठमाडौंको सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए ।
सोमबार लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन नसेको हकमा अर्को सूचना जारी गरी परीक्षाको व्यवस्था मिलाइने शाहले बताए ।

