काठमाण्डौ | गत पुस २८ गते सवारी चालक अनुमती पत्र (लाइसेन्स)को अनलाइन फारम भरेकाहरुको ‘भिजिट डेट’ (कार्यालय जाने दिन) सरेको छ।
सर्भरमा आएको समस्याको कारण उनीहरुको भिजिट डेट माघ ९ गते सारिएको यातायात व्यवस्था विभागले बताएको छ।
सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुलेको थियो । विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।
विभागले अनलाइन फारमको लागि निर्धारण गरेको ‘कोटा सिस्टम’ हटाउने तयारी थालेको छ।
आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएका कारण गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘हाम्रो साइट डाउन भएको छ। प्राविधिक टोलीले त्यो समसया हटाउन खोज्दै हुनुहुन्छ,’ उनले भने ‘ पहिला हामी आन्तरिक रुपमा परीक्षण गरेर यो हप्ताभित्र सेवाग्राहीको लागि खुल्ला गर्छौ।’
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।
आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित छन्।