काठमाडौं । सविकको विजेता टोली लिभरपुलविरुद्ध म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।
लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक–एक गोल गरे ।
उता, लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।
खेलको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६३ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलका लागि बराबरी गोल फर्काए ।
७३ औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ७६ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीले आफ्नो अग्रता ३–१ बनायो ।
८३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाए ।
जितसँगै सिटीले २२ खेलबाट ५० अंक जोडेको छ । लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ ।